नेपाल–भारत सीमानाकामा सीसीटिभी जडान गरिने

प्रदेश–२ सरकारले नेपाल–भारत सीमानाकामा सीसीटिभी क्यामेरा जडान गर्ने भएको छ ।

 

बिज्ञापन

लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सीसीटिभी जडान गर्न लागेको हो ।

 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो जानकारी गराउँदै भने, ‘नेपाल–भारत सीमानाकामा सीसीटिभी क्यामेरा जडानका लागि करिब ५ करोड रुपैयाँ खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।’

 

भारतसँग जोडिएको खुल्ला सीमाका कारण भारतबाट रातिराति लुकिछिपी मानिस नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै सीसीटिभी क्यामेरा अर्को विकल्पका रुपमा अघि सारिएको बताए ।

 

यस्तै, सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई १ सय साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले जानकारी दिए ।

 

१ हजार २६५ क्वारेन्टाइनमा

 

प्रदेश–२ मा शनिबार दिउँसोसम्म कोरोना भाइरस शङ्कास्पद ५ सय ५१ जनामा गरिएको स्वाब परीक्षणमा ५१२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

 

प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गरिएका मध्ये ३५ जनाको रिपोर्ट आउन बाँकी छ ।

 

४ जनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिबार मात्रै दिउँसोसम्म ६ जनाको स्वाब सङ्कलन गरिएको छ ।

 

त्यस्तै, आरडीटी किटबाट परीक्षणका लागि शनिबारसम्म १ हजार ८ सय २२ जनाको नमुना सङ्कलनमा १ हजार ८१९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट पोजेटिभ यसअघि नै देखाइसकेको छ ।

 

प्रदेश–२ का स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्रै दिउँसोसम्म प्रदेशका आठवटै जिल्लाबाट ९ सय ४० जनाको आरडीटी सङ्कलन गरिएको हो । रासस