कोरोना संक्रमितलाई खाना पुर्‍याउने रोबाेट बनाउँदै महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई खाना वा अन्य सामग्री पुर्‍याउनका लागि रोबाेट बनाउन सुरु गरेको छ । आइसोलेसन वार्डमा रहेका संक्रमित बिरामीलाई खाना पुर्‍याउने यो रोबाेट २–३ दिनभित्र तयार हुने आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

 

बिज्ञापन

‘आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि खानासहित विभिन्न सामग्री पुर्‍याउने रोबाेट बनाइरहेका छौँ,’ उनले भने, ‘अहिले पार्टपुर्जा जोड्ने काम भइरहेको छ । १/२ दिनभित्र हामी तयार गरिसक्छौँ ।

 

सुरुवातमा परीक्षणका लागि एउटा रोबाेट बनाउन लागिएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । उनका अनुसार रोबाेट निर्माण भएपछि सैनिक अस्पताल छाउनीमा परीक्षण गरिनेछ ।

 

आविष्कार केन्द्रका अध्यक्ष पुनका अनुसार नयाँ तयार भएको एरोसोल बक्सबाट कोरोना संक्रमितलाई जाँच्न सजिलो हुनेछ । एक्रेलिकबाट बनेको यो बक्स प्रयोग गर्दा बिरामीले हाछ्यूँ तथा उसले फेरेको सास सिधै डाक्टरसम्म पुग्न रोक्ने पुनले बताए ।

 

‘यो बक्स प्रयोग गर्दा उपचारमा संलग्न चिकित्सक सुरक्षित हुन्छन्,’ उनले भने, ‘हालसम्म यस्तो बाकस बनाएर वीर अस्पताल र सैनिक अस्पताल छाउनीलाई दिइसकिएको छ ।’

यस्तै, आविष्कार केन्द्रले इमर्जेन्सी भेन्टिलेरको नमुना पनि तयार गरेको जनाएको छ । कोरोना संक्रमितका लागि सास फेर्न नभई नहुने यो भेन्टिलेटर आवश्यक परेमा तयार गर्न सकिने आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए ।

 

 

यो भेन्टिलेटर अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अनुसन्धानकर्ताले विकास गरेर खुल्ला रूपमा उपलब्ध गराएको नमुनाका आधारमा बनाइएको उनले बताए ।

 

अध्यक्ष पुनका अनुसार वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, गगंगाल अस्पताल र सैनिक अस्पतालका बिग्रेका भेन्टिलेटर पनि धमाधम मर्मत भइरहेका छन् ।

शिलापत्र