कोरियामा कोरोना   सङ्क्रमण  :  ४२ हजार नेपाली  श्रमिक त्रासमा

चीनको वुहानबाट सुरु भएको कोभिड कोरोना भाइरसको सङ्क्रमण दक्षिण कोरियामा समेत फैलिन थालेको छ । यसको त्रास कोरियामा कार्यरत नेपाली श्रमिकमा पर्न थालेको छ ।

 

बिज्ञापन

कोरियामा हाल ४२ हजार नेपाली श्रमिक रोजगारीमा कार्यरत रहेको रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।

 

कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण कोरियामा ७ जनाको मृत्यु भइसकेको कोरियाको स्वाथ्य विभागले जनाएको छ । थप १ सय ६१ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । यससँगै सङ्क्रमित हुनेको संख्या ७ सय ६३ पुगेको विभागले जानकारी दिएको छ ।

 

कोरियाको सियोलस्थित नेपाली दूतावासले समेत कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि कोरियामा रहेका नेपालीलाई सचेत हुन र यस रोगबाट बच्नका लागि आइतबार सूचना जारी गरिसकेको छ । कोरियामा धेरै नेपाली कार्यरत रहेको सबैभन्दा ठूलो औद्योगिक शहर थेगुमा सङ्क्रमण तीव्र गतिमा फैलिन सुरु गरेपछि दूतावासले लक्षण देखिए परीक्षण गराउनसमेत अनुरोध गरेको छ ।

 

कोरोनाको शंका लागेको भए तत्काल अस्पताल जान कोरियामा कार्यरत श्रमिकलाई दूतावासले अपिल गरेको छ ।

 

कोरियामा कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलिन थालेपछि नेपालबाट कोरिया जाने कामदारलाई तत्कालका लागि प्रवेशमा रोक लगाइएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जानकारी दिएको छ ।

 

कोरिया सरकारको अनुरोधमा रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया जान उडान तालिका प्राप्त गरेका श्रमिकलाई तत्कालका लागि रोकिएको जनाएको छ ।

 

कोरियामा कोरोना भाइरस फैलिएका कारण कोरियाको मानव संशाधन बोर्ड (एचआरडी)ले तत्काल नेपाली श्रमिक नपठाउन अनुरोध गरेपछि उडान तालिका परिवर्तन गरिएको वैदेशिक रोजगार विभिाग ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए ।

 

कोरियामा रहेका नेपाली श्रमिकबारे शाखाले जानकारी लिएको छ । तर, कोरोना भाइरसको त्यति असर नभएको उनको भनाइ छ ।

 

शाखाका अनुसार रोजगारीका लागि कोरिया जान उडान तालिका प्राप्त गरेका १ सय ६२ नयाँ र ४७ पुनः जानका लागि तयारीमा रहेका श्रमिकलाई तत्काल कोरिया जान रोक लगाइएको छ । एचआरडीले नयाँ सूचना जारी नगरेसम्म नेपाली कामदार नपठाइने शाखाले जनाएको छ ।

 

कोरियासँग सन् २००८ मा सरकारी स्तरमा श्रम सम्झौता गरेर नेपाली श्रमिक लैजान थालेको थियो । कोरिया ईपीएसमार्फत जाने नेपाली श्रमिकले ४ वर्ष १० महिनापछि अनिवार्य स्वदेश फर्कनुपर्ने व्यवस्था छ । सन् २०१५ मा गएका ५ हजार ८ सय ६६ नेपालीको भने अहिले फर्कने समय भइसकेको छ ।

 

उनीहरू फर्किंदा अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल फर्काउन तयारी भइरहेको दूतावासले जानकारी दिएको छ ।

 

फर्काउन तयारी नै छैन

 

वैदेशिक रोजगारीमा कार्यरत नेपाली समस्यामा परे फर्काउन नेपाल सरकारलाई ठूलो चुनौती नै देखिन्छ । हाल वैदेशिक रोजगारीमा मात्र ४४ लाख नेपाली श्रमिक रहेको सरकारी अनुमान छ ।

 

नेपाली कामदार कार्यरत देशमा रोगको महामारी, प्राकृतिक प्रकोप र हाल चीनबाट फैलिएको कोरोना भाइरस जस्ता ठूला रोगका महामारी फैलिए आफ्ना नागरिक फर्काउन सरकारले नसक्ने रोजगार क्षेत्रका विज्ञहरू बताँउछन् ।

 

कोरिया त परै जाओस्, भारतमा ठूलो महामारी फैलिए त्यहाँ रहेका नेपाली फर्काउन सरकारले नसक्ने उनीहरूको दाबी छ । सरकारले गत हप्ता चीनमा अध्ययनका लागि गएका १ सय ७५ जना नेपाली नेपाल फर्काएर उपचार गराइरहेको छ ।

 

यसैगरी चीनमा जस्तै कोरियाबाट नेपाली कामदार फर्काउन सरकारलाई सहज छैन । चीनमा नेपाली सीमित भएका कारण फर्काइएको थियो । तर, कोरियामा रोजगारी, अध्ययन र व्यवसाय गर्ने करिब ५० हजार नेपाली रहेको सरकारी अनुमान छ ।

 

कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिए सरकारले फर्काउने भन्दा उत्तै उपचारका लागि पहल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले कोरिया फैलिएको कोरोना भाइरसका बारेमा दूतावासमार्फत् जानकारी लिइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भारतराज पौड्यालले जानकारी दिए । रोगको उपचारका लागि कोरिया सरकारसँग समन्वय गरेर उपचारका लागि पहल हुने उनको भनाइ छ ।

 

नेपालमा फर्काएर पनि उपचार नै गर्नुपर्ने र कोरियामा पनि उपचार हुने मन्त्रालयका प्रवक्ता पौड्यालले बताए ।