बाँस्कोटाविरुद्ध छानबिन हुन्छ : गृहमन्त्री थापा

(मकवानपुर) — गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापाको भनाइ छ ।

 

बिज्ञापन

‘बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ,’ वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा आएका थापाले सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ । उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ ।’

 

कपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताएका छन् । उनले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे । एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताए । एमसीसी पारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने उनको भनाइ थियो ।

 

शान्ति सुरक्षाको अवस्था सुदृढ छ

 

गृहमन्त्री रामहादुर थापाले  नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको ,  भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिए ।

 

उनले भने,“शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ ।” गोष्ठीमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी भएका छन् ।

 

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

 

गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ ।

रासस