
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह हिजो (आइतबार) दुई हप्ता लामो भारत भ्रमणमा गएका छन् । ज्ञानेन्द्र पत्नी कोमलका साथै केही परिवारका अन्य सदस्यसहित हिजो अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् ।




निजी भ्रमण भनिएपछि उनले भारतमा रहँदा त्यहाँ उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको पनि बताईन्छ । उनले नयाँदिल्ली र चण्डीगढको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा केहीले दिल्लीमा कालिबाबा आश्रममा जारी महामृत्युञ्जय महायज्ञमासहभागि हुने अनुमान पनि गरे पनि त्यसको पुष्टि भएको छैन । पूर्वराजा ज्ञानेन्द्र ४ गते आइतबार भारत प्रस्थान गरि १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको निर्मलनिवास श्रोतले बताएको छ ।
पूर्वराजा ज्ञानेन्द्र २ महिनाको झापा दमक बसाईपछि केही दिन अघि मात्रै काठमाडौं फर्किएका थिए । गत मंसीर २० गतेदेखि झापामा बसेका उनीसहित परिवारका अन्य सदस्यले भारत पश्चिम बंगालका केही स्थानहरुको भ्रमण गरेका थिए ।
पूर्वराजा यो पटक लामो समयसम्म झापामा बस्दा पनि कसैसंग भेटघाट नगरेको स्रोतले जानकारी दिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले गर्न लागेको भ्रमणको विषयमा नेपाली राजनीतिक वृत्तमा फेरी तरंग पैदा गराएको छ । उनको भ्रमण हुने समयमा नेपाली राजनीतिक क्षेत्रमा जहिले पनि विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।
अहिले हुन लागेको भारत भ्रमणको विषयले पनि चर्चा र परिचर्चा पाउने देखिन्छ । उनले भारतमा रहदा त्यहाँ राजनीतिक भेटघाट हुने बताईन्छ ।