
थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी १५ फागुनदेखि २३ गतेसम्म हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।




ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्का, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, सन्दीप जोरा, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की र किशोर महतो छन् ।

आइसिसी विश्वकप क्रिकेट लिग दुई खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा अँटाएनन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटाले सम्हाल्ने छन् । प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिङ्गापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्टमा मलेसियामा हुने एसिया ट्वेन्टी–ट्वेन्टी छनौटमा भाग लिनेछन् । उक्त छनौट प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया ट्वेन्टी–ट्वेन्टी कप प्रतियोगिता खेल्नेछ
कोराना भाइरसका कारण चीन, भूटान र म्यानमारले एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सहभागी नहुने बताएका छन् । कोरोना भाइरसको कारण देखाउँदै तीनवटै देशको सरकारले उक्त प्रतियोगिता खेल्न खेलाडीलाई अनुमति नदिएपछि तीनै देशले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न नसक्ने आयोजक राष्ट्रसमक्ष जानकारी गराएका छन् ।