
काठमाडौं : चीनको कोरोनाभाइरस प्रभावित क्षेत्र वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकहरु बुहानमा जम्मा हुन लागेका छन् । सरकारले चीनको कोरोनाभाइरस प्रभावित क्षेत्र वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका लागि आज (शनिबार) विमान पठाउने भएपछि उनीहरु एक ठाउँमा जम्मा हुन लागेका हुन् ।




पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज आज दिउँसो पौने तीन बजे त्यसतर्फ प्रस्थान गर्नेछ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले उनीहरुलाई नेपाल फर्काउने आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन् ।

भोलि (आइतबार) दिउँसो नेपालमा आइपुग्ने नेपालीहरुलाई सरकारले अन्ततः भक्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवन क्वारेन्टाइनमा पुर्याउने भएको छ
स्थानीयवासीको विरोधका बाबजुद सरकारले रोजेको यो स्थानलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार गरिएको स्वास्थ मन्त्रालयका सचिब खगराज बरालले जानकारी दिएका छन् ।
भोलि नेपाल आइपुग्ने १ सय ८० जना नेपालीलाई त्यहाँ राखिने भएको हो । आज (शनिबार) उद्दार गर्न जाने जहाजका चालक दलका सदस्यसहित सबैलाई पनि क्वारेन्टाइनमा राख्ने सरकारको योजना छ ।
त्यस्तै उनीहरुलाई त्यहाँ राख्दा कोरोनाभाइरसको लक्षण देखिए तत्काल अस्पताल लगेर आइसोलेसनमा राख्ने तयारी स्वास्थ मन्त्रालयले गरेको छ । उनीहरुलाई २ हप्तासम्म आफन्तसँग पनि भेट्न दिइने छैन भने चौबिसै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा राखिनेछ । कोरोनाभाइरस नभएको पुष्टि भएपछि उनीहरुलाई अभिभावकको जिम्मा लगाइनेछ ।