
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला नेतृत्वको टोलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसँग भेट गरेको छ ।




इण्डिया फाउण्डेसन दिल्ली र नीति अनुसन्धान प्रतिष्ठान नेपालको आयोजनामा लखनउमा हुने एक कार्यक्रममा भाग लिन गएका डा.कोइरालासहितको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई बुधवार बेलुकी मुख्यमन्त्रीको सरकारी निवास लखनउमा भेटेको हो ।

कांग्रेस नेता डा.मिनेन्द्र रिजालसँगै लखनउ गएका डा.शशांकलाई उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले दोसल्ला ओडाई उपहारसमेत दिएका थिए । भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायसमेत आदित्य नाथलाई भेट्न गएको स्रोतले जनायो ।
नेपाली कांग्रेसभित्र हिन्दू राज्यको पक्षमा वकालत गर्दै आएका डा.कोइरालासहतिको टोलीले भारतको कट्टर हिन्दुवादी दल भारतीय जनता पार्टीका नेता तथा उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथसँग एक घण्टासम्म छुटै भेट गर्नुलाई धेरैले रहस्यपूर्ण रुपले हेरेका छन् ।
नेपाल इण्डिया चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजको सहआयोजनामा आजबाट सुरु हुने ‘दोश्रो भारत नेपाल द्विपक्षीय संवाद’ कार्यक्रममा अतिथिको रुपमा कोइराला र डा.रिजाललाई बोलाइएको स्रोतले जनायो ।
दुई दिने सो कार्याशालामा कांग्रेस नेता तथा पूर्वमन्त्री डा.रिजालले आफ्नो तर्फबाट कार्यपत्र पेश गरेका थिए । बिहीबार कार्यक्रमको अतिथिको रुपमा डा.कोइराला र उत्तरप्रदेशका मुख्य मन्त्री आदित्य नाथले सम्बोधन गर्दैछन् ।
नेपाली कांग्रेसको १४ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री डा.कोइरालाको भारतस्थित उत्तरप्रदेशको भ्रमणलाई कांग्रेसभित्र निकै महत्वपूर्ण मानिएको छ ।