नेपाली महिला भलिबल विश्व वरियतामा  ८७ औँ स्थानमा

काठमाडौं : अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ८७ औँ स्थानमा रहेको छ ।

 

बिज्ञापन

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले सो स्थान हाँसिल गरेको हो ।

 

एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अंक रहेको छ । नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हाँसिल गरेको थियो ।

 

त्यस्तै नेपालमा नै आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाली महिला टोलीले एतिहासिक रजत पदक हात पारेको थियो ।

 

वरियता क्रममा भारत ९७ अंकसहित ५४ औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अंक जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अंक रहेको अमेरिका दोस्रो तथा ३२८ अंक रहेको ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

 

यस्तै इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा रहेका छन् ।