
फिदिम । पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयकुमार चेम्जोङको दवावमा २१ हप्ताको भू्रणहत्या गरेको खुलेको छ । कुम्मायक १ यासोक स्थित एक सुकुम्बासी दलित परिवारकी १९ बर्षीया युवतीको जबरजस्ति गर्भपतन गराइएको हो । गर्भपतन पछि ती युवती आफन्तले लिएको कोठाको ओछ्यानमा छटपटाइरहेकी छिन् ।




मेघा बैंक कुम्मायक शाखामा कार्यरत कुम्मायक ५ स्याबरुम्बाका रमेश खड्का र यासोक बजारकी एक दलित युवतीले मन्दिरमा गएर बिवाह गरेका थिए । दुईबीचको सम्बन्धबाट युवातीको पेटमा गर्भ थियो ।

रमेश र ती युवतिबीच असार महिनादेखि चिनजान भएको हो । फेसबुकबाट साथी बनेका उनीहरुले छोटो समयमै एकअर्कालाई माया गर्न थाले । प्रेम सम्बन्धमा रहेका उनीहरुले सँगै जिउने संकल्प गरेका थिए । तर, उनीहरुको संकल्पमा अध्यक्ष चेम्जोङ तगारो बनिदिए ।
‘फेसबुकबाट जोडिएको हाम्रो नाता प्रेममा परिणत भयो,’ भू्रणहत्यापछि बेडमा छडपटिइरहेकी युवातीले विवाह गरेको फोटो देखाउँदै भिनन् ‘गहिरो प्रेममा परेपछि हामीले मन्दिरमा गएर विवाह गरेका थियौँ ।’ साउन २८ गते पाँचथर सदरमुकाम फिदिमको शिवालय मन्दिरमा उनीहरुले सिन्दुर पोते (बिवाह) गरेका थिए ।
क्षेत्रीको छोरा रमेश र दलित युवतीबीच विवाह भएको केही मनिसहरुलाई मात्र थाहा थियो । दलित युवतीसँग विवाह गरेको घरपरिवार र समाजले स्वीकार नगर्ने डरले रमेशले त्यो कुरा सार्वाजकि गर्न नचाहेको हुनसक्ने युवतीको अनुमान छ ।
सम्बन्धलाई गोप्य राख्न खोजेपनि विस्तारै उनीबीचको सम्बन्ध खुल्दै गयो । ‘हामी दुईबीच नराम्रो थिएन,’ युवती भन्छिन् ‘अध्यक्ष नै लागेर मलाई बर्वाद बनाए ।’
रमेशसँगको शारिरिक सम्पर्कबाट युवतीको पेटमा गर्भ रह्यो । दलित युवती भएकाले रमेशको परिवारले उनीहरुको सम्बन्ध स्वीकार्न सकेन । उनीहरुले गर्भपतन गराउन र सम्बन्ध छुटाउने योजना बनाउन थाले । रमेशको परिवारले अध्यक्ष चेम्जोङलाई प्रयोग गरे । चेम्जोङ गर्भपतन गराउन लागि परे । उनले युवातीकी आमालाई पटक पटक धम्की दिएर गर्भपतन गर्न बाध्य पारे ।
‘अध्यक्षको दवाव थेग्न नसकेर छोरीको पेटमा रहेको गर्भ फाल्न बाध्य भएँ,’ युवतीकी आमाले भनिन् ‘धम्कि र दवाव थेग्नै सकिएन ।’ चेम्जोङले युवतीको परिवारलाई गर्भपतन नगराए गाँउनिकाला गर्ने धम्कि दिए ।
आमाका अनुसार पुष २४ गते पाँचथर सदरमुकाम फिदिमको समर्पित अस्पतालमा लगेर २६ गते राती जबरजस्ती गर्भपतन गराईयो । २८ गते अस्पतालबाट युवतीलाई डिस्चार्ज दिइएको हो । गर्भपतन गराएपछि रमेश सम्पर्कबिहिन छन् ।
‘अहिले छोरीको अवस्था नाजुग छ,’ उनले भनिन् ‘रगत बगिरहेको छ । यस्तो दुखको कुरा अरुलाई भन्न पनि सकिन् । कसैलाई भनिस भने गाँउनिकाला गरिदिन्छु भनेर अध्यक्षले धम्काएका छन् ।’ अध्यक्षको धम्किका कारण दलित परिवार आतंकित बनेको छिमेकीहरु बताउँछन् । आमा छोरीबीच फोनमा बोल्न नपाउने र छोरीलाई घरमा ल्याउन पनि नपाउने भनेर अध्यक्षले धम्काएको पीडित परिवारको भनाई छ । ‘हामीसँग धन सम्पति छैन,’ युवतीकी आमा भन्छिन् ‘अध्यक्षले छोरीलाई घर नल्याउनु भनेका छन् । म के गरौँ ? छोरीलाई बजारमा राख्ने क्षमता छैन ।’
यसरी दिए अध्यक्ष चेम्जोङले धम्की
पीडित परिवारका अनुसार पुष २४ गते युवतीकी आमा घरमा काम गरीरहेकी थिइन् । त्यतिनै बेला गाँउपालिका अध्यक्ष चेम्जोङ्ले केही काम छ भनेर रानीगाँउमा रहेको आफ्नो पशु फर्ममा युवतीकी आमालाइ बोलाए । त्यहा पुग्दा अध्यक्ष चेम्जोङ, उनकी श्रीमती, रमेशका दाजु सन्तोष खड्का र दिदि कमला खड्का बसिरहेका थिए ।
‘चार जना भएर मलाई धम्काए,’ आमाले भनिन् ‘उनीहरुको धम्किकै कारण छोरीको भबिष्य बिगार्नुपर्यो ।’ तत्काल गर्भपतन गराउनुपर्ने भन्दै अध्यक्षले धम्काएको उनले बताईन । जात नमिल्ने र केटाकेटीबीच घरबार हुनै नसक्ने भन्दै चेम्जोङले धम्काएका थिए ।
हल्ला भयो भने केटा केटी दुवै जना जेल जान्छन् भनेर गर्भपतन गराउन आमालाई दवाव दिइयो । ‘केटाको दिदि कमला खड्काले त भन्नु नभन्नु गाली गरिन्,’ आमाले आँसु झार्दै भनिन् ‘तैले पनि यस्तै काम गर्दै बस्दि रैछेस् । छोरीलाई यस्तै काम सिकाइछेस् । छोरीको गर्भपतन नगराए गाँउपालिकाबाट पाउने सबै सुविधा रोक्न लगाँउछु भन्दै मलाई धम्काए ।’
फिदिम लगेर छोरीको गर्भपतन गराउनुपर्ने अध्यक्षको शर्त थियो । गर्भपतन गराएको हल्ला गरे प्रदेश सरकारले सञ्चालन गरेको सुरक्षित आवास कार्यक्रमबाट बञ्चित गराउने भन्दै चेम्जोङले उनलाई धम्काए ।
‘छोरीलाई गाँउ ल्याउन नपाउने अध्यक्षले भनेका छन्,’ आमा रुदैँ भन्छिन् ‘छोरीसँग तैले फोनमा पनि बोल्न हुँदैन भन्ने धम्कि छ ।’ पीडा सुनाउँदै गर्दा उनी डराइरहकी थिइन् । ‘कसैलाई भनिस भने यहाँबाट खेदिन्छ भनेको थियो,’ उनी डराउँदै भन्छिन् मलाई खेद्छन् होला । म कहाँ गएर बस्नु ?’
दवाव थेग्न नसकेपछि सोही दिन आमाले छोरीलाई लिएर फिदिम आएकी हुन् । फिदिमको समर्पित अस्पतालमा पुष २६ गते राती जबरजस्ती रुपमा गर्भपतन गराइएको हो । अस्पतालमा लागेको खर्च अध्यक्ष चेम्जोङले नै पठाएको पीडित परिवारको भनाई छ ।
आफूलाई फसाउन षडयन्त्र गरिएको चेम्जोङले बताए । ‘यो घटनाको बारेमा मलाई सामान्य जानकारी मात्रै छ,’ उनले भने ‘मलाई फसाउन योजनाबद्ध रुपमा कदम चालिएको हो, यो घटनामा मेरो हात छैन ।’ कुराकानीकै क्रममा चेम्जोङले पत्रकारले समाचार लेख्दैमा केही नहुने भनेर धम्कि समेत दिएका छन् ।
स्वीकृति नलिएको अस्पतालबाट गर्भपतन
फिदिममा सञ्चालित समर्पित अस्पतालले नेपाल सरकारबाट स्वीकृति नलिई गर्भपतन गराउने गरेको खुलेको छ । ‘हामीसँग गर्भपतनका लागि स्वीकृतिको अनुमति छैैन’ अस्पतालका प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले भने ‘स्वीकृति लिने प्रक्रिया अघि बढाएका छौँ ।’
गर्भपतनको स्वीकृति लिएका अस्पतालले नौ हप्तासम्मको गर्भ औषधी प्रयोग गरेर खुलाउने अनुमति पाएका हुन्छन् । १२ हप्तासम्मको गर्भपतन गराउनु परे तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गराउनुपर्ने व्यवस्था छ । तर, समर्पित अस्पतालले अनुमति बिना २१ हप्तासम्मको गर्भपतन गराएको हो ।