नेपालमा पहिलो पटक प्याराग्लाईडिङ विश्वकप आयोजना हुने

पोखरामा प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने भएको छ । आगामी फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ विश्व कप–एसियन टुर २०२० हुने भएको हो ।

 

बिज्ञापन

नेपाल प्याराग्लाईडिङ ह्याङग्लाईडिङ संघ र प्याराग्लाईडिङ पाईलट्स क्लबको संयुक्त आयोजनामा पहिलो पटक प्याराग्लाईडिङ विश्वकप आयोजना गरिएको हो ।

 

पर्यटकीय नगरी पोखरामा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्याराग्लाईडिङ विश्वकपको आयोजना गरिएको नेपाल हवाई खेलकुद संस्था (ना) का निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताए ।

 

विश्वकपमा सहभागी हुने पाईलटहरुले एफएआई (फेडेरेसन एरोनोटिक इन्टरनेशनल) बाट अनुमतिपत्र प्राप्त प्यारा पाईलटले मात्रै सहभागिता जनाउने पाउने प्रतियोगिताका संयोजक समेत रहेका भट्टराईले जानकारी दिए ।

‘एफएआईको लाईसेन्स प्राप्त पाईलटहरुले मात्र विश्वकपमा सहभागिता जनाउन पाउने छन्,’ उनले भने, ‘प्रतियोगितामा भाग लिन आधिकारिक संस्थाको सदस्य हुनु पर्छ ।’प्रतियोगितामा पहिलोपटक नेपाली सेनाका तर्फबाट पाईलट सागर जलारीले प्रतिस्पर्धा गर्ने छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपाली सेनाले प्याराग्लाईडिङ तर्फ चासो दिदैं आएको छ ।

 

प्याराग्लाईडिङ विश्वकपमा ३० राष्ट्रका १ सय २५ पाईलटको सहभागिता रहने छ । नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रुस, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम र चाईना लगायतका देशबाट प्रतियोगितामा सहभागिता रहने भट्टराईले बताए ।

 

संयोजक भट्टराईका अनुसार चीनबाट ११ जना पाईलटले प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ता गराई सकेका छन् ।चीनमा पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण फैलिएपनिं चीनबाट प्रतियोगितमा भाग लिने पाईलटहरु सहभागिता जनाउने भट्टराईले प्रष्ट्याए । ‘प्रतियोगितामा चिनियाँ पाईलटहरुले सहभागिता जनाउने छन्,’ उनले भने, ‘अन्तिमसम्म प्रतीक्षामा छौं । अहिलेसम्म निश्चित अवस्था छ ।’

 

प्रतियोगितामा एक्युरेसी र क्रसकन्ट्री विधामा समेत प्रतिस्पर्धा हुने छ । क्रसकन्ट्रीको लागि ७ टास्क पूरा गर्नु पर्दछ ।

 

एकसाता सम्म सञ्चालन हुने प्रतियोगिता अन्तरगतको क्रसकन्ट्रीमा मौसमी समस्या आएको अवस्थामा एकै दिन पाईलटले पूरा गरेको टास्क अनुसार क्रसकन्ट्रीको विजेता छानिने प्रतियोगिताका व्यवस्थापक विमल अधिकारीले जानकारी दिए ।

 

२०१८ मा इण्डोनेसियमा आयोजित एशियन गेम्समा नेपालले क्रसकन्ट्रीमा रजत पदक जितेको थियो ।त्यस प्रतियोगितामा अधिकारी कप्तानको भूमिकामा सहभागी भएका थिए ।

 

विश्वकप आयोजना गर्नका लागि ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको सहकार्यमा प्रतियोगिता हुनेछ ।प्रतियोगितामा भाग लिने पाईलटको उद्दार एवं सुरक्षा व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

 

प्रत्येक दिनको टास्क पूरा गर्ने खेलाडीलाई उत्कृष्टताको आधारमा पदक प्रदान गरिने संयोजक भट्टराईले बताए । प्रतिस्पर्धामा ओभरअल च्याम्पियनसिपसँगै दशौंस्थानसम्म आउने खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ ।