पुर्वराजा पश्चिमाञ्चलको भ्रमण गर्दै , सर्वसाधारणद्वारा भब्य स्वागतको तयारी

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा निस्कन लाग्नुभएको छ। उहाँ यही मंसिर १४ गते हुने उपनिर्वाचनको भोलिपल्टदेखि पश्चिमाञ्चल भ्रमणमा निस्कन लाग्नुभएको हो।१५ गते बिहान बुद्ध एयरको जहाजबाट भैरहवा जाने कार्यक्रम रहेको छ।

 

बिज्ञापन

करिब दुई साता लामो भ्रमणका क्रममा उहाँले करिब आधा दर्जन जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ । स्थानीय राजावादी र विश्व हिन्दू महासंघले जिल्ला भ्रमणको व्यवस्थापन गरेका छन् । पछिल्लो समय डिस्कोमा पुगी रातो र चन्द्र सूर्य गीतमा नाचेर चर्चा कमाएका शाहको यो भ्रमणको मुख्य एजेन्डा जिल्लाका आफू निकटका नेता–कार्यकर्तासँग भेट गर्ने कार्यक्रम हो । पश्चिमाञ्चलका सर्वसाधारण जनताले पुर्वराजालाई भब्य स्वागत गर्ने तयारी गरेको स्रोतले बतायो ।

 

६ महिनाअघि इलाम, पाँचथरलगायत तराईका केही जिल्ला दौडाहामा गएपछि शान्त बस्नुभएका शाहको यो भ्रमणलाई महत्वपूर्णरूपमा लिइएको छ।स्रोतका अनुसार पश्चिम केही जिल्लाका भ्रमण गरेपछि त्यतैबाट झापा जाने कार्यक्रमसमेत रहेको छ । ज्ञानेन्द्रले सेरिमोनियल राजतन्त्र ल्याउनका लागि जनमत बुझ्न विभिन्न जिल्ला भ्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।भ्रमणमा उहाँसँगै उहाँका निजी सचिव सागर तिमल्सिना, केही सुरक्षाकर्मी र निजी कर्मचारी सँगै जानेछन् । भैरहवाको होटलमा बस्ने गरी निस्कन लाग्नुभएका शाहले गुल्मी, अर्घाखाँची, बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पालगायतका जिल्ला भ्रमणका जानुहुने भएको छ।उहाँले ती जिल्लामा रहेका शक्तिपीठहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

मंसिर पहिलो साता भ्रमणमा निस्कने कार्यक्रम रहे तापनि निर्वाचन आचार संहिताको कारण उहाँ १५ गते जाने कार्यक्रम तय गर्नुभएको हो । भ्रमणको बस्दोबस्ती, रेकी गर्न र सुरक्षा अवस्थाबारे जानकारी लिन निजी सचिव डा. तिमल्सिना र निजी सुरक्षाकर्मी विभिन्न जिल्लाको भ्रमणमा छन्।यही शुक्रबार सुरक्षाकर्मी र केही कर्मचारी सुरक्षा बन्दोबस्त गर्न ती जिल्लामा पुग्नेछन् ।

ज्ञानेन्द्रले हिन्दू धर्मसहितको राजतन्त्रको वकालत गरिरहेको कमल थापा निकट राप्रपाका केही नेतासँग समेत भेट्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।