
एजेन्सी – टि टेन लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीले सहज जित निकालेको छ । आइतबार साझ सम्पन्न खेलमा टिम आबुधाबीले नर्थन वारियर्सलाई ६ विकेटले हराएको हो ।

जितका लागि ९३ रनको लक्ष्य पछ्याएको टिम आबु धाबीले ८.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । सहज जित दिलाउन लुक राइटले २३ बलमा ४ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए । राइट आठौं ओभरको पाँचौ बलमा रन आउट भएपछि अर्ध शतक पुरा गर्न चुकेका थिए । त्यस्तै कप्तान मोइन अलीले २० बलमा २ चौका र १ छक्का सहित ३० रन जोडे । अलीलाई क्रिस ग्रिनले क्याच आउट गराए । विकेटकीपर निरोशन डिकवेला ८ रनमा क्याच आउट भए । पारस खड्का १ बलमा १ रन जोड्दै नटआउट रहे । नर्थनका क्रिस ग्रिनले २ विकेट लिए ।



त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वारियर्सले १० ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नर्थनका लागि विकेटकीपर साम बिलिङ्गस २० बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित योगदान दिए । त्यस्तै आन्दे रसेलले २७ बलमा ३ चौका र १ छक्का सहित ३७ रनमा अविजित रहे । आन्द्रे र सामले दोस्रो विकेटका लागि अविजित ६३ रनको साझेदारी गरेका थिए ।

चौथो ओभरको दोस्रो बलमा बेन लालिनले कप्तान डरेन सामीलाई १७ रनमा बोल्ड आउट गरेका थिए । टिम आबुधाबीको लागि बेन लालिनले १ विकेट लिए । पहिलो खेलमा टिम आबुधाबी र कलन्दर्सबीचको खेल टाई भएको थियो ।जुन खेलमा पारसले ३ रन जोडेका थिए । अव टिम आबुधाबीले आफ्नो तेस्रो खेलमा सोमबार मराठा अरेबियनसँग खेल्ने छ ।