गौरादहमा ग्वालीमा आगलागी, चार चौपाया जलेर मृत्यु

दमक / झापा जिल्लाको गौरादह नगरपालिका–२ मा रहेको एक ग्वालीमा गएराति आगलागी हुँदा चारवटा चौपाया जलेर मृत्यु भएको छ भने दुईवटा चौपाया घाइते भएका छन्।

स्थानीय टंकप्रसाद पौडेलको टिनको छानो, बाँसको टाटी बेरा र सखुवाको खम्बा भएको एकतले ग्वालीमा राति करिब ११ः३० बजे विद्युत सर्ट भई आगलागी भएको हो। ग्वाली पूर्णरूपमा जलेर नष्ट हुँदा ग्वालीमा बाँधेर राखिएको एउटा दुहुनो गाई, एक खसी, एक बोका र एक बाख्रा जलेर मरेका छन्। त्यस्तै, ग्वालीमा रहेका एउटा गर्भवती गाई र तीन महिनाको बाछी घाइते भएका छन्। आगलागीका कारण ग्वाली र त्यसभित्र रहेको काठपातसहितको सामग्री जलेर नष्ट हुँदा करिब ६ लाख १९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

उक्त आगो गौरादह र दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीहरूको सहयोगमा राति १ः५० बजे नियन्त्रणमा लिइएको थियो।