कोशी प्रदेशमै बीमा नीति निर्माणका लागि कार्यदल गठन गर्ने तयारीमा छाैँ, हिक्मतकुमार कार्की

दमक / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बीमा प्राधिकरणले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बीमा सेवालाई सर्वसुलभ र झन्झटरहित बनाउन बीमा कम्पनीहरूलाई आग्रह गरेका छन्।

उनले बीमाको पहुँच आम नागरिकसम्म पुर्‍याउन सेवा प्रणालीलाई सहज र प्रभावकारी बनाउनु आवश्यक रहेको बताएका छन्।

बिज्ञापन

कार्कीले भने, “राज्यले बीमा कम्पनीहरूलाई कानुनी सुविधा दिन्छ, तर बीमा लिन चाहने सर्वसाधारण नागरिकले भने प्रक्रिया पुरा गर्न सक्दैनन् भने त्यो विडम्बना हो।” उनले बीमा लिनेदेखि दाबी भुक्तानीसम्मको प्रक्रिया छरितो, पारदर्शी र नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिए।

कोशी प्रदेश सरकार अब प्रदेशमै बीमा नीति निर्माणका लागि कार्यदल गठन गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिएका छन्। “हामी बीमालाई कृषि, पशुपालन र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा पहुँच पुर्‍याउने गरी काम गर्छौं,” उनले थपे। गम्भीर प्रकृतिका रोगहरूको बीमामा विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले बीमा कम्पनीहरूलाई जनतासँग सहकार्यमा उत्रिन आह्वान गरे।