
दमक / भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका–२ धोद्ले खानीमा गएराति एक हृदयविदारक घटनामा एकै परिवारका चार जनाको हत्या भएको छ। घटनामा संलग्न व्यक्ति भने गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार आइतबार बिहान राति सवा १ बजेतिर ३० वर्षीय राजेन्द्र राईले धारिलो हतियार प्रयोग गरी आफ्ना ससुरा, सासुआमा, सालो र श्रीमतीको हत्या गरेका हुन्। उनी भोजपुर नगरपालिका–२, हेलौछा स्थायी बासिन्दा हुन्। हतकाण्डमा परी ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मन्जु गिरी, ९ वर्षीय छोरा सपन गिरी र १५ वर्षीया छोरी मनिषा गिरीको ज्यान गएको हो।



मनिषा राजेन्द्रकी पत्नी हुन्। राजेन्द्र असार १२ गतेदेखि ससुरालीमै बस्दै आएका थिए। छिमेकीहरूका अनुसार केही दिनअघि माइती आएकी मनिषालाई लिन ससुराली पुगेका राजेन्द्र र उनको ससुराली पक्षबीच विवाद चर्किएको थियो। सोही विवादपछि शनिबार राति उक्त जघन्य हत्याकाण्ड घटेको बताइएको छ।

राजेन्द्र स्वयं पनि गम्भीर घाइते अवस्थामा फेला परेका छन्। उनको पेटमा धारिलो हतियारले तीन ठाउँमा चोट लागेको छ। प्रारम्भिक उपचार भोजपुर अस्पतालमा गरिएको भए पनि अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ।
प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान सुरु गरेको जनाएको छ। स्थानीय बासिन्दा र आफन्तजनमा गहिरो शोक छाएको छ।