
दमक / भारतबाट मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर नेपाल ल्याउँदै गरेका एक युवक झापामा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति झापा मेचीनगर–१४ धाईजन गोलोबारीका २६ वर्षीय सरोज लामिछाने हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, गएराति करिब ९ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुल नजिकै भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.८ प.१५८५ नम्बरको टीभीएस मोटरसाइकललाई शंका लागेपछि जाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकलको च्यासिस भागमा विशेष प्वाल बनाई त्यसमा प्लास्टिकको पोको राखिएको थियो, जसमा ब्राउनसुगर लुकाइएको थियो।



जाँचका क्रममा प्लास्टिकको पोकोभित्र ४ ग्राम ब्राउनसुगर बरामद गरिएको हो भने ब्राउनसुगर र प्रयोग गरिएको मोटरसाइकलसहित सरोज लामिछानेलाई नियन्त्रणमा लिइएको र लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
