
दमक / सुनसरीमा स्कुल बसको ठक्करबाट ३ वर्षीय नाबालकको मृत्यु

सुनसरीको गढी गाउँपालिका–६ मा स्कुल बसको ठक्करबाट मंगलबार एक ३ वर्षीय नाबालकको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटना मंगलबार अपरान्ह ४ः२० बजेतिर गढी गाउँपालिका–६ स्थित भित्री पक्की सडकमा भएको हो। लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुल, छिटाहा, गढी–३ को ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किच्दा घटनास्थलमै उनको ज्यान गएको हो।



मृतक गढी–६ निवासी श्रवण उराउका ३ वर्षीय छोरा आयुष उराउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए। स्कुल छुटेपछि बस चढेर घर नजिकै झरेका बालक ओर्लने क्रममा अचानक लडेका थिए। त्यही क्रममा बसको पछाडिको चक्कामुनि परेर टाउकोमा गम्भीर चोट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा लिइएको छ भने चालक विनोदकुमार मेहता फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको डीएसपी खतिवडाले बताए। प्रारम्भिक अनुसन्धानअनुसार चालकको लापरवाहीकै कारण दुर्घटना भएको पुष्टि भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमल्सिनाको नेतृत्वमा भइरहेको छ।