भिडियो भाइरल भएपछि कर्मचारीको राजीनामा माग

नयाँ दिल्ली । एयर इन्डियाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ भेन्चर एआईएसएटीएसका ४ कर्मचारीहरूलाई राजीनामा दिन भनेको छ। उनीहरूले कार्यालयमा पार्टी गरिरहेको भिडियो भाइरल भएपछि यो कारबाही गरिएको हो।

अहमदाबाद विमान दुर्घटनाको ८ दिनपछि कर्मचारीहरूले यो पार्टी गरेका थिए। एयर इन्डियाले शुक्रबार एक विज्ञप्तिमा भनेको छ, ‘हामी अहमदाबाद विमान दुर्घटनाको दुखद घटनाबाट प्रभावित परिवारहरूप्रति पूर्ण समवेदना व्यक्त गर्दछौँ। भाइरल भिडियोमा देखाइएका कर्मचारीहरूको व्यवहार हाम्रो कम्पनीको नीति विपरीत छ। हामीले जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा अनुशासनात्मक कारबाही गरेका छौँ।’

बिज्ञापन

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो जुन २० मा एयर इन्डियाका कर्मचारीहरूले गुरुग्राममा एआईएसएटीएस कार्यालयमा गरेको पार्टीको भएको बताइएको छ । यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा मानिसहरूले यी कर्मचारीहरूको निन्दा गरे। प्रयोगकर्ताहरूले एयर इन्डियाको संवेदनशीलतामाथि प्रश्न उठाइरहेका थिए।

अहमदाबादबाट लन्डनका लागि उडान भरेको एआई १७१ विमान केही समयपछि नै मेडिकल होस्टेलको भवनमा ठोक्किएको थियो। दुर्घटनामा २४१ यात्रु र चालक दलका सदस्यहरू सहित २७० जनाको मृत्यु भयो। दुर्घटनामा एक यात्रु मात्र बाँचेका थिए।