
दमक / पूर्वपश्चिम राजमार्ग अन्तर्गत रतुवा पुलमा ट्रकसंग ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार राति ९.३० बजे कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा इटहरीबाट विर्तामोडतर्फ जादै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ जादै गरेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकल सो ट्रकमा ठोक्किदा दुर्घटना भएको थियो ।



दुर्घटनामा कमल –५ बस्ने ३० वर्षीय सुशिल राई गम्भीर घाइते भएका थिए । उनलाई दमकस्थित निम्स अस्पताल लागिएको थियो सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा दमक –६ गणतन्त्र चोकमा आफन्तले मृत्यु भइसकेको शंका लागेर पुनः निम्स अस्पताल पुर्याउनासाथ चिकित्सकले राई लाई मृत घोषणा गरेका थिए ।

मृतकको शव दमक अस्पताल दमकमा राखिएको छ भने ट्रक घटनास्थलमै रहेको छ ।घटनापछि फरार रहेका ट्रक चालक अर्जुनधारा –७ बस्ने ५३ वर्षीय रघुनाथ सिटौला इलाका प्रहरी कार्यालय दमकको सम्पर्कमा आई नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।