करोडौँ रकम ठगी गरी फरार रहेका भण्डारी कम्बोडियाबाट पक्राउ

दमक / मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

एकसय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी १४ करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको मुद्दामा फरार  रहेका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले पनि सहकारीको रकम अपचलन गरी विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ। उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो भने प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीलकाे टोलीले बुधबार राति ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी  नेपाल ल्याएको हाे।।

बिज्ञापन

मितेरी सहकारीका महाप्रबन्धक गुरुङले अपचलन गरेको करोडौँ रकम थाइल्याण्डमा बसोबास गर्ने भण्डारीले चलाएको र उनले सो रकम फिर्ता गराइदिने भनी सहकारीका पदाधिकारी र भण्डारीबीच सम्पर्क गराएको पाइएको प्रहरीले जनाएको छ।

भण्डारीले कास्की र बर्दियाबाट दुईवटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुईवटा राहदानी पनि लिएको पाइएको छ। उनले अन्य व्यक्तिहरुको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी किर्ते गरेको नागरिकता र राहदानीलाई ठगी गर्न प्रयोग गरेको प्रहरीले जानकारी दिएकाे छ।