एक पटक देशको नेतृत्व गर्ने इच्छा रहेको कांग्रेस नेता पौडेलको भनाई

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजना गरिएको अन्तक्र्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । उनले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए ।

कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस आँफूसँग रहेको भन्दै नेता पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले सहयोग गर्न अनुरोध समेत गरे । वरिष्ठ नेता पौडेलले कांग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको उल्लेख गर्दै निर्वाचन केन्द्रित भएर लाग्न आग्रह समेत गरे । नेता पौडेललले गठबन्धन देशको आवश्यकता भएको बताउँदै संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेको दाबी गरे। कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो ।

बिज्ञापन

छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।