आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ। न्याय परिषद् तथा न्याय सेवा आयोगको सिफारिसमा निर्वाचन आयोगले अधिकृतहरू नियुक्त गरेको हो।

७७ वटा जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिृकत र बाँकी ८८ वटा निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत निर्वाचन अधिकृत नियुक्त भएका हुन्। अधिकृतहरूले आगामी ११ असोजदेखि जिम्मेवारी सम्हाल्ने आयोगले जनाएको छ।

बिज्ञापन

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम प्रत्येक जिल्लामा १ जना मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था छ। त्यसैगरी आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार निर्वाचन सम्पन्न गर्न द्वितीय श्रेणीका अधिकृत नियुक्त गरेको हो।

न्याय परिषद् तथा न्याय सेवा आयोगले आइतबार (२ असोज) प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि निर्वाचन अधिकृतको नाम उपलब्ध गराएको थियो ।
यसैबीच निर्वाचन आयोगले ४ वटा प्रदेशको समानुपातिकतर्फको मतपत्र छापेको छ । प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशको मतपत्र छपाइ सकिएको हो। प्रदेश १ का लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि ३७ लाख ९३ हजार, बाग्मती प्रदेशका लागि ३८ लाख ९३ हजार र गण्डकी प्रदेशका लागि २० लाख ४२ हजार मतपत्र छापिएको आयोगको मुद्रण शाखाले जनाएको छ ।

आयोगले अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छापिरहेको छ। कर्णालीका लागि ११ लाख ३६ हजार मतपत्र आवश्यक पर्नेमा बुधबार (५ असोज)सम्ममा ५ लाख ७३ हजार छपाइ सकिएको छ । त्यसैगरी लुम्बिनीका लागि ३६ लाख ४९ हजार छाप्नुपर्नेमा १० लाख ९४ हजार मतपत्र छापिएको आयोगले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका लागि १८ लाख ५८ हजार मतपत्र छाप्ने आयोगको तयारी छ । प्रदेशको समानुपातिक निर्वाचनका लागि २० करोड १८ लाख ४ हजार मतपत्र छाप्नेछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ ८ करोड वटा मत्रपत्र छाप्ने तयारी गरेको छ।