चोलेन्द्रलाई सर्वोच्चमा जान नदिन प्रहरीलाई सरकारको निर्देशन

काठमाण्डौं।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । माथिल्लो निर्देशन अनुसार नै चोलेन्द्र सर्वोच्च प्रवेश गर्न सक्ने विषयमा सर्वोच्च अदालत सुरक्षा कार्यलय तैनाथ छ।

तर निवासमा कुनै अवरोध नगर्न सरकारले निर्देशन दिएको छ। निवासमा र व्यक्तिगत कामकाजमा कुनै अवरोध नपुर्‍याउन मातहतलाई निर्देशन गरिसकेको प्रहरी उच्च स्रोतले बतायो।

बिज्ञापन

उता मानवअधिकार आयोगले भने चोलेन्द्रलाई सर्वोच्च जानबाट रोक्न नहुने जनाएको छ । चोलेन्द्रले गत आइतबार नै सर्वोच्च जाने तयारी गरेका थिए। तर सुरक्षाकर्मीको अवरोधका कारण त्यो दिन संभव भएन।

आफूलाई निवासबाट बाहिर जान नदिएको भन्दै उनको अभिव्यक्तिपछि मानव अधिकार आयोगले पनि उनलाई हिडडुल गर्न दिन सरकारलाई भनेको थियो।

प्रहरीले भने चोलेन्द्रकै सुरक्षाका लागि निवासमा सुरक्षाकर्मी तैनाथ गरेको बताएको थियो। तर सरकारले उनलाई कुनै पनि हालमा सर्वोच्च प्रवेश गर्न नदिन भनेपछि निवासमै अवरोध गरिएको थियो।

सुरक्षाकर्मीको अवरोधकै कारण चोलेन्द्र आइतबार सर्वोच्च जान सकेनन् भने सर्वोच्चमा पनि नेपाल बारले उनलाई प्रवेश गर्न नदिन धर्ना दिएको थियो। यस्तै सर्वोच्च प्रशासनबाट पनि उनलाई राम्रो संकेत मिलेको थिएन।

सर्वोच्चले निलम्बन फुकुवाको पत्र ल्याउन भनेपछि चोलेन्द्रको सर्वोच्च यात्रामा थप समस्या भएको हो। महाअभियोग लागेर फागुन १ गतेदेखि निलम्बनमा रहेका चोलेन्द्र माथिको महाअभियोगको टुंगो लागेको छैन।