मोरङको बूढीगंगामा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर : मोरङमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार साँझ बूढीगंगा गाउँपालिका-३ शान्ति चोकमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

सडक पार गर्दै गरेको अवस्थामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ४६९८ नम्बरको पिकअपले ठक्कर दिँदा स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।

बिज्ञापन

ठक्करबाट बस्नेतको टाउकोमा गम्भीर चोट लागेको थियो । टाउकोमा चोट लागेका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पिकअप भ्यान चालक विराटनगर महानगरपालिका-५ का २४ वर्षीय सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि सुरु गरेको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।