
काठमाण्डौं। नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारहरूबारे छानविन थालेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

सोहीअनुसार आएका नामबारे आन्तरिक छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । आज बिहानसम्म तीन प्रदेश गण्डकी, सम्पर्क समन्वय समिति र उपत्यका समन्वय समितिको सिफारिस आइसकेको छ । अरु आउने क्रममा छ’, सचिव अधिकारीले भने, आज बेलुकासम्म सबै प्रदेशको आइसक्छ भन्ने अपेक्षा छ ।’



एमालेले भदौ २२ भित्र प्रदेशहरूलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सचिव अधिकारीले आएका सिफारिसबारे छानविन पनि भइरहेको बताए ।

एमाले नेताहरुका अनुसार प्रदेशबाट आएका नाममा प्रदेश कमिटीका इन्चार्जसहित सरोकारवालासँग छलफल पनि भइरहेको छ । तर सबै प्रदेशबाट नाम आइसकेपछि सचिवालय बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर अन्तिम निर्णय गर्ने एमालेले जनाएको छ ।