
दमक। यतिबेला मुलुकमा निर्वाचनको लहर चलेको छ । विभिन्न राजनीतिक दलका नेताहरु आफ्नो पार्टीले यति सिट जित्ने र उति सिट जित्ने भनेर दाबी गरिरहेका छन् । सत्ता गठबन्धन नेकपा एमालेका विरुद्ध मोर्चाबन्दी नै बनाएर कस्सिएको छ ।

यता मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धन सिट बाँडफाँड गर्न तम्सिएको छ । उसले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा सिट बाँडफाँडकै लागि समिति नै बनाएको छ ।



तर अहिलेसम्म सो समितिले माखो मार्न सकेको छैन् । सहमति त परैको कुरा । बरु उल्टै सत्ता गठबन्धन दलका नेताहरु को भन्दा को कम भन्दै भाषण ठोकिरहेका छन् । सबैका आ–आफ्ना अडान छन् । केहिदिन अघि कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसले एक सय सिट नछोड्ने उद्घोष गरे ।

उनले मात्र होईन नेता गगन थापाले पनि सय सिट बटमलाईन भएको बताउँदै आएका छन् । सोहि सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६० सिट भन्दा झर्न नसक्ने बताएका छन् । उनले बरु कांग्रेसले नमाने बाम तालमेल गर्ने भन्दै कांग्रेसलाई चेतावनी समेत दिएका छन् ।
यस्तै एमालेबाट फुटेर बनेको एकीकृत समाजबादीले पनि ४० सिट हुनुपर्ने बताउँदै आएको छ । जनता समाजवादीको पनि आफ्नै अडान छ । सत्ता गठबन्धनमा रहेका यि दल र तिनका नेताहरुको अभिव्यक्तिले गठबन्धन भित्रको सिट बाँडफाँडको गाँठो त्यति सजिलै फुक्ने छाटकाँट छैन् । सबै आ–आफ्नै अडानमा छन् ।
हुनत यि दलहरुको निति र सिद्धान्त मिल्दैनन् । सोहि भएर पनि बार्गेनिङ्ग हुनु स्वभाविक नै हो । तर सिट बाँडफाँडमा कोहिपनि पछि नहट्ने हो भने यिनीहरुको एक मात्र पुनः सत्तामा फर्किने उदेश्य भने संकटमा पर्ने निश्चित छ । किनकी गत स्थानीय निर्वाचनमा एमाले एक्लै लड्दा पनि उसले पाएको मत निक्कै छ ।
जसका कारण नै उ सत्ता गठबन्धनसँग एक्लै लड्ने भन्दै उफ्रिदैंछ । राष्ट्रियताको रक्षा गर्न सबै एक हुनुपर्छ र बैबाहिक अंगीकृतलाई बिबाह गर्ने वित्तिकै नागरिकता दिनु हुँदैन भन्ने उसकोे अडानका कारण उसले अन्य पार्टीभित्रका युवा र बुढापाकाको मत पाउनेमा बढी विस्वास गरेको छ ।
त्यसोत उसले एक्लै लड्ने हिम्मत भए आउँन पनि चुनौती दिएको छ । तर सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी आफ्नो जमानत जफत हुन सक्ने डरले र कांग्रेस सत्ताबाट बाहिरीने डरले एक्ला एक्लै लड्ने पक्षमा छैनन् ।
माओवादी केन्द्र र समाजवादीको अहिलेको उदेश्य ओली र उनको दललाई देशभरबाट नक आउट गर्ने र कांग्रेससँग मिलेर पुनः सत्तामा स्वाद चाख्ने नै हो । अरु केहि नमिले पनि सत्ता गठबन्धनका यि दलहरुको सत्तामा टाँसिरहने उदेश्य चाँही मिलेका छन् ।
यतिहुँदाहुँदै पनि अहिले सम्म सिट बाँडफाँडका लागि आ–आफ्ना अडानले र प्रचण्डको घरिघरीको बाम तालमेलको अभिव्यक्तिले भने सत्ता गठबन्धन नै संकटमा पर्ने त होईन भन्ने आशंका उब्जिएको छ ।