
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा सरकार, प्रतिनिधिसभा र प्रदेशसभा सबै कामचलाउ भैसकेको बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य देवकोटाले काम चलाउ भैसकेको सरकार र संसदले दीर्घकालीन महत्वका विषयमा निर्णय गर्न नपाउने बताए ।

‘संसदीय मूल्यमान्यता र परम्पराअनुसार कामचलाउ निकायले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने निर्णय गर्दैनन्’, देवकोटाको भनाइ छ । उनले कामचलाउ भैसकेको संसदले नीति तथा कानुन समेत बनाउन नसक्ने भन्दै त्यसमा सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताए ।



उनले निर्वाचन घोषणा भइसकेपछि सभामुख र उपसभामुखको पद मात्र कायम रहने संविधानले नै भनेकाले सांसदहरुको कार्यकाल पनि समाप्त भएको बुझ्न जरुरी रहेको बताए । कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पनि नमिल्ने र राज्यको दोहन गर्ने काम बन्द गर्न आग्रह गरे । उनले लगातार दोस्रोपटक भएका सांसदहरुलाई टिकट नदिन प्रमुख राजनीतिक दलहरूलाई आग्रह पनि गरे ।

‘लगातार चुनावमा विजयी भएकालाई तेस्रो पटक टिकट नदिइयोस्’, सदस्य देवकोटाको माग छ । उनले राजनीतिलाई दुहुनो गाइ बनाउने काम बन्द गर्न नेताहरुलाई आग्रह समेत गरे ।