कम्युनिस्टका लागि राणाशासन र कांग्रेसको शासनमा केही फरक भएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालमाथि शासकहरुले मात्र नभई आफ्नै साथीहरुले पनि ज्यादती गरेको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पलाललाई महासचिवबाट षडयन्त्रपूर्वक तरिकामा हटाएर कम्युनिस्ट आन्दोलन नै कमजोर पार्ने काम भएको बताए। उनले राणाशासनमा भन्दा पनि कांग्रेसको शासनमा कम्युनिस्टमाथि प्रतिबन्ध लगाइएको बताए।

बिज्ञापन

‘मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि उनले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए,’ ओलीले भने, ‘०८ सालमा उनी प्रधानमन्त्री भएपछि लागेको प्रतिबन्ध ४ वर्षभन्दा बढी लाग्यो। राणाशासन भन्दा कांग्रेसको शासन कम्युनिस्टलाई केही फरक भएन।’

पुष्पलालविरुद्ध सम्भ्रान्त परिवारका ठिटाहरुले ज्यादती गरेको ओलीको भनाइ छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरे।