
काठमाडौँ : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो केहीबेर बेसेसँगै बैठक असोज १४ गते बिहीबार सम्मका लागि स्थगित गरिएको हो ।

संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । सोमबार पनि बैठक सुरु हुनासाथ एमालेले बिरोध जारी राख्यो । सभामुख सापकोटाले दल विभाजनमा सत्तापक्षलाई सहयोग गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन् ।



सोमबारको बैठकमा एमाले सांसदहरुले नयाँ ’नारा’ पनि लगाएका छन् । उनीहरुले ’कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गरेर ल्याइएको बजेटमा सरकारले ‘लगानीमा स्रोत नखोजिने’ भनेर गरेको व्यवस्थाको एमाले सांसदहरुले विरोध जनाएका हुन् ।

सरकारले कालो धनलाई वैधानिकता दिन लगानीको स्रोत नखोजिने व्यवस्था गरेको एमाले सांसदहरुको आरोप छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आर्थिक अध्यादेश २०७८ मा ‘आयकर ऐन, २०५८’ संशोधन गर्दै दफा ११ मा सुर्ती तथा मदिराजन्यबाहेकका उद्योगमा ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राखिएको छ ।