
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले धम्क्याएको खुलासा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना दूत एस जयशंकरमार्फत् संविधान पारित नगर्न धम्की दिएको ओलीले खुलासा गरेका हुन्।

भारतीय अखबार द हिन्दुले यसबारे विस्तृत समाचार सार्वजनिक गरेको छ। उसले ओलीले आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो कुरा उल्लेख भएको दाबी गरेको छ।



“भारतका प्रधानमन्त्री मोदीका विशेष दूतले राजनीतिक दलका नेताहरुलाई संविधान स्वीकार नगर्न चेतावनी दिएका थिए। यदि भारतको खिलाफ गए यो संविधानलाई नमान्ने दूतले धम्की दिएका थिए। जुन हाम्रा लागि दुःखद हुनसक्थ्यो,” ओलीको राजनीतिक प्रतिवेदनलाई उद्धृत गर्दै द हिन्दुले लेखेको छ।

विसं २०७२ असोज ३ गते संविधान जारी हुँदै गर्दा एक दिनअघि तत्कालीन विदेश सचिव एस जयशंकर नेपाल आएका थिए। मोदी दूत बनेर काठमाडौं ओर्लिएका उनले माओवादी अध्यक्ष प्रचण्डसहित राजनीतिक दलका नेताहरुलाई भेटेका थिए।
“संविधानको मस्यौदा तयार भएदेखि नै भारतले यसप्रति असन्तुष्टि जनाउँदै आएको थियो। भारतले नेपाल सरकारमाथि संविधान न अपनाउनका लागि ठूलो दबाब सिर्जना गरेको थियो,” ओलीले भनेका छन्।