ओली देउवा एउटै हुन् : ओली संविधान मिच्ने, देउवा विधान मिच्ने – शेखर कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभाबशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एउटै भएको बताएका छन् ।

 

बिज्ञापन

उनले ओलीले संविधान मिचेर सरकार चलाइरहेको र देउवाले विधान मिचेर पार्टी चलाइरुहेको बताएका हुन् ।

 

डा. कोइरालाले भने, ‘दुवै एउटै हुनुहुन्छ एकजनाले संविधान मिचिरहनु भएको छ एकजनाले विधान मिचिरहनु भएको छ ।’

 

के गरे देउवाले ?

 

डा. कोइरालाका अनुसार मुलुक संघीय संरचनामा गएको छ काँग्रेस अझै जान सकेको छैन । उनले यसबारे स्पष्ट पार्दै भने, ‘हामी अझै संघीय संरचनामा जान सकेका छैनौं ।

 

विधानअनुसार हामी चल्न सकेका छैनौ ।’ काँग्रेसको विचलनबारे उनले भने, ‘निर्वाचनको परिणामपछि हामीमा विचलन आयो । हामीले चुनावमा नराम्रोसंग हार्यौं । अधिवेशन समयमै गरिएन भने त्यसले फेरि अर्को विचलन ल्याउँछ ।’

 

उनले तदर्थ समिति बनाएर गए पनि त्यो स्वीकार्य नहुने बताउँदै भने –तदर्थ समितिमा बसेको मान्छे पपुलर हुँदैन ।

 

काँग्रेसलाई उर्जाशील बनाउने हो भने अधिवेशन गर्नैपर्छ । विधानमा कहीं पनि तदर्थ समिति भन्ने शब्द नै छैन ।’

 

देउवाले योगदान दिनेबेला आएको बताउँदै भने, ‘देउवाले अब पनि गुट चलाउनु हुन्छ भने मलाई केही भन्नु छैन ।’उनले देउवाको योगदान पार्टीका लागि धेरै भएकाले काँग्रेसलाई संगठित बनाउन थप योगदान दिनुपर्नेमा जोड दिएका छन् ।

 

यसका लागि उनले भने, ‘गाउँपालिका, नगरपालिका लगायतमा जहाँ संरचना परिवर्तन भएको छ त्यहाँ अधिवेशन गर्नुपर्यो । प्रदेशमा अधिवेशन गर्नुपर्यो ।

 

नविकरण फुकुवा गर्न जिल्ला जिल्लामा पठाइदिने र नयाँ क्रियाशिलको प्रक्रिया सुरु गर्ने हो भने देउवा सफल सभापति पनि बन्नुहुन्छ ।’

 

देउवाको तीतो पक्ष कोट्याउँदै डा कोइरालाले भने, ‘उहाँ कस्तो भने आफू जित्नेभए मात्र खेल्ने र नत्र नखेल्ने भन्नुहुन्छ ।’ तदर्थ समिति बनाए काँग्रेस धरासायी हुन्छ भन्दै डा. कोइरालाले आफूले कहिल्यै पनि तदर्थवाद नस्वीकार्ने स्पष्ट पारे ।

 

चुनावमै जोढड दिँदै उनले भने, ‘देउवाले चाहने हो भने एक दुई महिना ढिलै भए पनि महाधिवेशन हुन सक्छ ।’

 

देउवाको कार्यकाल फागुनमा सकिँदैछ । तर एक वर्ष कार्यकाल लम्ब्याउने सम्भावना बढेपछि डा कोइरालाले आक्रोश पोखेका छन् ।

 

के गरे ओलीले ?

 

प्रधानमन्त्री ओलीको शैलीप्रति पनि डा. कोइराला रुष्ट छन् । जताततै बढेको अस्तव्यस्तताले गर्दा मुलुक नै धरासायी हुँदै गएको डा कोइरालाको निष्कर्ष छ ।

 

ओलीले सत्ता चलाउँदा संविधानको उल्लंघन गरेको आरोप उनको छ । उनी भन्छन्, ‘संविधानलाई कानुनले उल्लंघन गरिरहेको छ ।’

 

आइतबार मात्रै ओलीले काँग्रेसलाई मिलेर जाउँ भनेको प्रति डा. कोइरालाले ब्यङ्ग्य कसे ‘घरघरमा ग्यास पाइप जडान भइसक्यो, पानीजहाज आइसक्यो क्यार, रेल छिट्टै आउँदैछ ।

 

आइफा अवार्ड झण्डै एक अर्ब खर्च गरेर पर्यटन ब्यवसाय बढाउने काम हुँदैछ क्यार ।’

 

उनले भने, ‘ओलीले झुठो बोलेरै कानुनको उल्लंघन गर्नुभएको छ । काम नगरेरै संविधानको उल्लंघन गर्नुभएको छ । मेरो चाहना त उहाँले पाँच वर्ष सरकार चलाओस् भन्ने हो । तर काम किन नगर्ने ?’

 

नेपालमा बढेको भ्रष्टाचार र बेथितिको जिम्मा प्रधानमन्त्रीको भएको भन्दै उनले स्पष्ट पारे, ‘भ्रष्टाचार न्यून गर्ने काम प्रधानमन्त्री हो ।

 

राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सबै आफ्नै अधिनमा लिएर बसेपछि गर्नुपर्यो नि । नत्र कार्वाहीको भागेदार बन्नुपर्छ ।’