
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचन घोषणा गर्नु संविधान र लोकतन्त्रको हत्या भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले संसद विघटन र मध्यावधि निर्वाचन आकाङ्क्षाको सुनियोजित निरन्तरता भएको पनि बताएको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी प्रेस विज्ञप्तीमा जारी गर्दै मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार रहेको उल्लेख छ ।



विज्ञप्तीमा भनिएको छ– ‘परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनु परिरहेको छ।’

‘अघिल्लो पटक संसद् विघटन हुँदा विरोधको एकै स्वर बोलेका प्रतिपक्षी दलहरू ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन के कति स्वार्थले एक ठाउँ उभिन सकेनन्? ओली र भण्डारीको सर्वसत्तावादबाट मुलुकलाई जोगाउन विपक्षी दलहरू कहाँ कहाँ र कसरी चुके? यो प्रश्नको इमानदार जवाफ उनीहरूले दिनुपर्छ’– थप भनिएको छ ।
साथै पार्टीले सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास लिएको छ ।
विवेकशील साझा पार्टी अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्छ भन्नेमा प्रष्ट रहेको पनि बताइएको छ । ‘कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल–शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो’– विज्ञप्तीमा भनिएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठपूर्ण ढङ्गबाट लोकतन्त्रविरुद्ध गरिरहेको निरन्तर प्रहारको एकबद्ध भएर विरोध गर्न सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान पनि पार्टीले गरेको छ ।