माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइयो

नुवाकोट । नुवाकोटका विभिन्न ठाउँमा यस वर्षको माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रूपमा जिल्लाका विभिन्न ठाउँमा जुधाउन थालिएको छ ।

बिहीबार तारकेश्वर गाउँपालिका–३, तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबिसे र शिवपुरी गाउँपालिका–३, शेराबगरमा गरी ३५ हल गोरु जुधाइएको हो । सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ ।

बिज्ञापन

माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालन भएको गोरु जुधाइमा तारुका हजारौँ दर्शक गोरु जुधाइ हेर्नका लागि पुगेका थिए । गाउँमा विभिन्न ठाउँमा गोरु जुधाउने चलनलाई एकत्रित गर्दै २०६२ सालबाट व्यवस्थित रूपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए ।

विदुर नगरपालिका–१० बेत्रावतीमा यस वर्ष वरपरका पाँच हलमात्र गोरु जुधाइएको गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताउनुभयो । कोरोनाका कारण धेरै प्रचार–प्रसारमा जोड नदिइ परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उहाँको भनाइ छ । विजेता तथा सहभागी गोरुका धनीहरूलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।