सल्लाह दिन नियुक्त व्यक्ति मेडिकल सामग्री खरिद प्रक्रियामा संलग्न

कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ सल्लाहकारमा नियुक्त डा. खेम कार्कीको भूमिकालाई लिएर शंका उब्जेको छ।

उनीमाथि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारीसल्लाह दिन नसकेको आरोप त लागेको छ नै, सँगसँगै ओम्नी ग्रुपसँगको विवादास्पद खरिद सम्झौताका साथै स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा चासो र संलग्नता देखाउन थालेपछि उनको भूमिकालाई लिएर आलोचनासमेत बढेको छ।

बिज्ञापन

कार्कीले कोरोना नियन्त्रण प्रयोजनका लागि सामग्री खरिद गर्दा आफू अनुकूलका आपूर्तिकर्तालाई ठेक्का दिलाउन हस्तक्षेप गर्न थालेपछि उनको टिओआरमाथि नै प्रश्न उठेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए। कार्की कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको सिफारिसमा सल्लाहकार नियुक्त भएका हुन्।

स्वास्थ्य सेवा विभागमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेल, प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार समूहका केही सदस्य र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको मिलेमतोमा कार्कीको संयोजकत्वमा छुट्टै टोली गठन गरेर घोटाला गरिएको स्रोतले बतायो।

विभागको अधिकारमाथि हस्तक्षेप गर्दै विवादास्पद ओम्नी ग्रुपलाई ठेक्का दिलाउन कार्की सक्रिय रहेको स्रोतको भनाइ छ। उपप्रधानमन्त्री पोखरेल, मन्त्री ढकाल र प्रधानमन्त्रीको सल्लाहकार समूहका केही सदस्यले ओम्नीसँग सेटिङ मिलाएर कार्कीको नेतृत्वमा वार्ता टोली गठन गरिएको स्रोतको दाबी छ।

संसद्को सार्वजनिक लेखा समितिले ओम्नीसँगको मेडिकल सामग्री खरिदमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्कीको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

नियत असल थियो : कार्की

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीलेमेडिकल सामग्री तत्काल आवश्यक पर्ने भएकाले असल नियतका साथ आफूवार्ताटोलीमा बसेको दाबी गरेका छन्। सबैले आग्रह गरेपछि वार्ताटोलीमा बसेको बताउँदै उनले अर्को प्रस्तावकभन्दा ओम्नी ०.५ प्रतिशत घट्न तयार भएपछि उसैलाई खरिदको जिम्मा दिन सिफारिस गरिएको दाबी गरे। के आधारमा वार्ताटोलीमा बस्नुभयो भन्ने प्रश्नमा डा. कार्कीले आफू वार्ताटोलीमा बस्न मिल्नेनमिल्ने जानकारी नभएको र आफूविरुद्धमा विरोधीहरु लागेको टिप्पणी गरे। ‘हतारमा खरिद गर्नुपर्ने भएपछि सबैले तपाईं बस्नुस् भन्नुभयो, मैंले पनि राम्रो काम हो भनेर काम गरें। अहिले मलाई बदनाम गराउने काम भइरहेको छ’, उनले भने।

इस्टिमेटमा नभएको आरडिटी किट खरिद सम्झौतामा कसरी पर्यो भन्ने प्रश्नमा उनले आरडिटी पनि आवश्यक छ भन्ने कुरा उठेकाले किन्ने कुरा भएको तर्क गरे। विभागको इस्टिमेटभन्दा प्रत्येक प्याकेजमा ६ करोड बढीको इस्टिमेट बनाएर ओम्नीसँग मेडिकल सामग्री खरिद गरेको विषयमा भने उनले सबै कुरा आफूलाई मात्र जानकारी नभएको, त्यो काममा मन्त्रालयका अन्य कर्मचारी पनि संलग्न रहेको बताए।

यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।