
काठमाडौँ — सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले गृहमन्त्री रामबहादुर थापा राज्यका नीति र कार्यक्रमबारे नबोल्दा समस्या उत्पन्न भएको बताएका छन् । गृहमन्त्रीलाई पटकपटक गाँजाखेतीबारेको कानुन कहिले संशोधन हुन्छ भनेर सोध्दा नबोलेको उनको भनाइ थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा गृह लगायत विभिन्न मन्त्रालयका लागि विनियोजित बजेट र कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले भने, ‘गृहमन्त्रीलाई धेरै पटक गाँजाखेतीबारे ध्यानाकर्षण गरेँ । कानुन कहिले संशोधन हुन्छ भनेर तर बोल्नुभएको छैन ।’



खतिवडाले गृहमन्त्रीको नबोल्ने बानीलाई अन्य मन्त्रीहरूसँग तुलना गर्दै थपे, ‘कैयौं मन्त्री धेरै बोलेर बिग्रिन्छन्, हाम्रो गृहमन्त्री बोल्दै नबोलेर समस्या । वीरबल हाँस्यो भने पानी पर्छ भन्थे, हाम्रो गृहमन्त्री बोल्यो भने पानी पर्छ । फरक के छ भने वीरबलले हाँस्दाखेरी बादल नभए पनि पानी पर्थ्यो रे ! हाम्रो गृहमन्त्रीज्यू हाँस्दा बादलसहितको पानी पर्छ ।’

किसानको आम्दानी बढ्ने भएकाले गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने सांसद खतिवडाको माग छ । उनले गृहमन्त्री थापालाई त्यसबारे निर्णय गर्न आग्रह गरेका थिए ।
त्यस्तै, आगामी वर्षको नीति तथा कार्यक्रममा जेलहरूलाई स्तरोन्नती गर्नका लागि पनि बजेट विनियोजन गर्न खतिवडाले गृहमन्त्रालयलाई आग्रह गरेका छन् ।