
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको विषयमा गृहमन्त्री रामबहादुर थापा र महान्यायाधिवक्ता अग्नि खरेलले दिएको अभिव्यक्तिले अनुसन्धान प्रभावित गर्न खोजेको आरोप लगाएको छ ।

शुक्रबार प्रमुख प्रतिपक्ष दलकी सचेतक पुष्पा भुसाल गौतमले संसदमा गृहमन्त्रीले दिएकाे दौडेर हाम फाल्दा मृत्यु भएको भन्ने अभिव्यक्ति र संसदीय समितिमा महान्यायाधिवक्ताले दिएको अभिव्यक्तिले निष्पक्ष छानबिनमा समस्या पार्न सक्ने जनाएकी हुन् । संसदीय समितिमा खरेलले मिडियामा आएजस्तो विषय अनुसन्धानको क्रममा नदेखिएको बताएका थिए ।



कांग्रेसले मृतकको पोष्टमार्टमको क्रममा हत्या नै गरिएको देखिएकाले संसदीय छानबिन समितिको माग गरेको छ । गृह मन्त्रालयले गरेको छानबिनमा विश्वास गर्न नसकिने कांग्रेसले जनाएको छ । विगतमा निर्मला पन्तको हत्याकाण्ड जस्तै यो घटनालालई पनि राजनीतिकरण गर्न खोजिएको आरोप कांग्रेसको छ ।

१० जेठमा सोतीस्थित मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । आक्रमणमा ६ युवाको ज्यान गएको थियो । त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो । उनीहरू सबैको शव भेरी नदीआसपासमा भेटिएको थियो ।