प्रदेश १ को बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता : सामाजिक विकासमन्त्री घिमिरे

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने बताएका छन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने बताए ।

 

बिज्ञापन

बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल सुरू भएको जानकारी गराउँदै उनले विश्वभर फैलिएको कोरोना भाइरसले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणतिर ध्यानाकर्षण गराएकाे बताए ।

 

शिक्षा पत्रकार समूहले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तर्क्रियामा मन्त्री घिमिरेले भने, ‘यसअघिका बजेटमा ५१ प्रतिशत भौतिक पूर्वाधार याेजना हुन्थे । अब त्यसो हुँदैन ।’

 

२५ वैशाखसम्मकाे लकडाउनपछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने मन्त्री घिमिरेले बताए । लकडाउनपछि शिक्षण संस्था सञ्चालनबारे विज्ञसँग परामर्श भइरहेकाे उनले जानकारी दिए ।

 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसईई परीक्षा सञ्चालनबारे पनि छलफल भइरहेको बताउँदै उनले परीक्षा केन्द्रको दायरा बढाएर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने बताए ।