कोभिड अस्पताललाई बूथ हस्तान्तरण

काेसी अस्पताल कोभिड-१९ उपचार केन्द्रका लागि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)काे भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन बूथ हस्तान्तरण गरेको छ ।

 

बिज्ञापन

कोराना भाइरसका शंकास्पद व्यक्तिको नमूना संकलन लिनका लागि सहयोग पुर्‍याउने उद्देश्यका साथ नमूना संकलन बूथ हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

 

कोभिड अस्पतालमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई बूथ हस्तान्तरण गरिएको थियो ।

 

मन्त्रीद्वयले संयुक्त रूपमा बुथ ग्रहण गरी काेसी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रालाई हस्तान्तरण जिम्मा लगाए ।

 

युवा संघ मोरङले इन्जिनियरको प्राविधिक सहयोगमा करिब ८५ हजार रुपैयाँको लागतमा बुथ निर्माण गरेको अध्यक्ष नविन पौडेलले जानकारी दिए ।

 

उनका अनुसार राष्ट्रिय युवा संघले अहिलेसम्म तीन वटा बूथ निर्माण गरेको छ । यसअघि सुन्दरहरैचा नगरपालिका र बेलबारी नगरपालिकालाई बुथ हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताए ।