प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाउन जिसस प्रमुखको माग

प्रदेश–१ का जिल्ला समन्वय समितिका प्रमुखले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिलाई बढाउन माग गरेका हुन् ।

 

बिज्ञापन

सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखले क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य आरडीटी गर्नुपर्ने बताएका छन् ।

 

१४ दिने क्वारेन्टाइन अवधि सकिन लागेको भन्दै आरडीटीको दायरा बढाउन उनीहरुको माग छ । क्वारेन्टाइनमा बसेकाको संख्याको आधारमा किट पठाउन समन्वय समिति प्रमुखले माग गरेका छन् । इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले जिल्लामा आरीटी किट अभाव भएको बताए ।

 

आरडीटी अभावका कारण क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्न नपाएको उनले गुनासो गरे । इलाममा स्वास्थ्यकर्मी र औषधिको पनि अभाव भएको प्रमुख बरालले बताए ।

 

झापाका प्रमुख सोमनाथ पोर्तेलले पनि आरडीटी किटको अभावमा परीक्षण गर्न नसकिएको बताए । झापामा भारत लगायतका विभिन्न देशबाट ९ सय प्रवेश गरेको उनले बताए । बाहिरी देशबाट आएका अधिकांश होमक्वारेन्टाइनमा रहेकाले उनीहरुको आरडीटी अनिवार्य गर्नुपर्ने उनले बताए ।

 

आवश्यक किटको अभावमा परीक्षण हुन नसकेको उनले गुनासो गरे । बोर्डरको सुरक्षामा कडाई गरिएको जिसस प्रमुख पोर्तेलले बताए ।

 

तेह्रथुमका प्रमुख शिव ढुंगानाले बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको बताए । क्वारेन्टाइनमा राख्न थालिएपछि बाहिरी जिल्लाबाट आउने घटेको उनले बताए । तेह्रथुममा ३ सय ७४ को आरडीटी गरिएको उनले जानकारी दिए । आरडीटी गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

 

सुनसरीका प्रमुख गोपालराज भण्डारीले जिल्लामा आरडीटी किटको अभाव रहेको बताए । आवश्यक किट नहुँदा क्वारेन्टाइनमा राखेकाको परीक्षण गर्न नसकिएको उनले बताए । सीमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको जिसस प्रमुख भण्डारीले जानकारी दिए ।

 

संखुवासभाका प्रमुख सुमन शाक्यले काठमाडौं लगायत विभिन्न जिल्लाबाट प्रवेश गरेकालाई क्वारेन्टाइनमा राखिएको बताउँदै संखुवासभामा स्वास्थ्यकर्मीको अभाव भएको गुनासो गरे ।

 

ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले काठमाडौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेको अनिवार्य आरडीटी गर्ने गरिएको बताए । उनले अहिलेसम्म २ सय ३१ जनाको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

 

सामाजिक विकासमन्त्री घिमिरले हरेक जिल्लालाई दोस्रो चरणमा ३ सय ६० का दरले किट पठाइसकिएको बताए । उनले प्रकोप भएका जिल्लामा आवश्यकताका आधारमा थप किट पठाइने आश्वासन दिए । उनले १४ वटै जिल्लाका स्वास्थ्यकर्मीलाई शंकास्पद व्यक्तिको स्वाब संकलन गर्ने सम्बिन्ध तालिम दिइसकिएको समेत बताए ।