
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि ज्यानै जोखिममा राखेर स्वास्थ्यकर्मी खटिइरहेका छन् । तर, डडेल्धुरा अस्पतालका १ कर्मचारी भने ड्युटीका बेला रक्सीको नशामा झुम्मिने गरेको पाइएको छ ।




डडेल्धुरा अस्पतालका सिनियर अहेब दिलीपसिंह साउद अस्पताल प्रशासनभित्र रक्सीको नशामा झुम्मिने गरेका छन् । उनी सधैँजसो मादक पदार्थ सेवन गरेर कार्यालय जाने गरेको कर्मचारी बताउँछन् ।

उनकाे यस्तो हर्कतका कारण अस्पताल प्रशासनका लागि टाउको दुखाइको विषय बनिरहेकाे छ । अस्पताल स्रोतका अनुसार साउद दैनिकजसो मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गर्ने गर्दछन् ।
स्रोत भन्छ, ‘डडेल्धुरा अस्पतालको इर्मेजेन्सी वार्डमा काम गर्ने उनले बिरामी मात्र होइन, अस्पताल प्रशासनलाई समेत हैरान पारेका छन् ।’ केही समयअघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउदलाई प्रहरीले ३ पटक थुनामा राखिसकेको छ ।
मंगलबार मात्रै तेस्रो पटक उनलाई नियन्त्रणमा लिएर थुनामा राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । ‘हामीले नियन्त्रणमा लिएर थुनामा राखेका छौँ,’ उनले भने, ‘कारबाहीका लागि अस्पताल प्रशासनले निर्णय लिन्छ होला ।’
यस विषयमा डडेल्धुरा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट जगदीश विष्टले साउदले गल्ती गरेको भए नियमानुसार कारबाही अगाडि बढ्ने बताए ।
शिलापत्र