चिकित्सक नुहँदा भेन्टिलेटर तथा आईसीयू सेवा बन्द

सर्लाहीकाे लालबन्दी नरगपालिका–१ मा रहेकाे नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आईसीयू सेवा प्रयोगविहीन बनेको छ । ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किनुका साथै सेवासमेत प्रभावित बन्न पुगेको छ ।

 

बिज्ञापन

प्रदेश २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख रुपैयाँकाे लागतमा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो । नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आईसीयू उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए ।

 

उनले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटकपटक ध्यानाकर्षण गरायाैँ । तर कार्यान्वयन भएको छैन ।’

 

सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न २०७० सालमा सो केन्द्र स्थापना भएको थियो । गर्मी तथा वर्षायाममा केन्द्रमा दैनिक १०/१२ सर्पदंशका बिरामी आउने गरेकाे जनाइएको छ । सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा बिरामीको चाप बढी छ । हालसम्म उपचार केन्द्रले करिब ४ हजार ५ सय बिरामीको उपचार गरिसकेको जनाएको छ ।

 

केन्द्रले बिरामीको सेवालाई मध्यनजर गर्दै २०७५ साल मङ्सिरबाट एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको १२ लाख आर्थिक सहयोगमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएकाे हाे । साथै सोलार बत्ती तथा इन्भर्टर जडान गरी बिरामीलाई २४सै घण्टा सेवा दिने तयारीसमेत गरिएको छ । रासस