सिमेन्ट उद्योगको प्रदूषणले आजित  भएपछि स्थानीयवासी आन्दोलित

घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगबाट निस्कने धूवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कुनै ध्यान नदिँदा अहिले स्थानीयवासी त्यसको विरोधमा उत्रिएका छन् । सिमेन्टको धूवाँ, धुलो र ध्वनिले आजित भएपछि त्यहाँका स्थानीयवासीले उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति नाम दिएर २०७१ सालदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।

 

बिज्ञापन

घोराही–४ लक्ष्मीपुरका स्थानीय दिलबहादुर घर्तीले उद्योगकै कारण अब खेतीपाती गरेर खान नसकिने अवस्था आएको बताए । ‘बारीमा तरकारी रोपे पनि खान मिल्दैन । तरकारीको पातभरि सिमेन्टका धुलो जमेका हुन्छन्’, उनले भने, ‘पहिले गाउँमा कति धेरै फलफूलहरू उत्पादन हुन्थ्यो तर अब लिची, कागती, आँप सबै फल लाग्दै गर्दा झरेर जान्छन् केही पनि फल्दैन ।’

 

उद्योग नजिकका स्थानीयवासी एवम् वातावरण सरोकार समितिका सदस्य डा. गोविन्द आचार्यले उद्योग चौबीसै घण्टा चल्ने र रातको समयमा बढी ध्वनि र धुवाँ निकाल्ने हुँदा आफूहरूलाई निदाउनै मुश्किल भएको बताए ।

 

‘हामीले उद्योगलाई बारम्बार राति ६ घण्टा मात्रै भए पनि ध्वनि रोक्नुस् भनेका छौँ तर बेवास्ता गर्दै आएको छ’, उनले भने, ‘उद्योगबाट निस्कने धूवाँ बढेको हुँदा बाँच्नै मुश्किल परेको छ ।’ घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालिले भने सिमेन्ट उद्योग सरकारले तोकेको मापदण्डमा रही सञ्चालनमा रहेको दाबी गरेको छ ।

 

स्थापनाकालमा १ हजार २ सय मेट्रिक टन प्रतिदिन सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले दैनिक २ हजार मेट्रिक टन उत्पादन गर्न थालेको छ । सगरमाथा सिमेन्टका नाममा उद्योगले अहिले आफ्नो उत्पादन बजारमा पठाउँदै आएको छ ।

 

उद्योगनजिकै रहेको डाडाँगाउँ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सुनारले उद्योग स्थापनापछि विद्यार्थीमा शरीर चिलाउने, रूघाखोकी बढी लाग्नेजस्ता समस्या देखिएको बताए । उद्योगछेउमै रहेको स्वास्थ्य चौकीमा पनि यसखालका बिरामी धेरै आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

 

सिमेन्ट उद्योगका जनप्रशासन प्रमुख विकास शर्माले सिमेन्ट उद्योग सरकारबाट तोकिएको मापदण्डको पूर्ण दायरामा रही सञ्चालनमा रहेको बताए । उनले आफूहरूले स्थानीय नागरिकलाई क्षमता र सीपका आधारमा रोजगारी दिने, सामाजिक उत्तरदायित्व बहन गर्ने, वातावरणीय प्रभाव मूल्यांकनमा सजग रही वृक्षरोपणलगायत प्रदूषण नियन्त्रणमा अत्यन्तै गम्भीर भई सिमेन्ट उद्योग सञ्चालन भइरहेको दाबी गरे ।

 

‘हामी सिमेन्ट उद्योगबाट कोही कसैलाई पनि नकारात्मक प्रभाव पार्ने खालको काम गरेका छैनौं, उद्योग सञ्चालनकै विषयमा यहाँहरूसमक्ष त्यस्तो केही भएजस्तो लाग्छ भने केन्द्रबाटै विज्ञ टोली मगाएर अध्ययन गर्न सक्नुहुन्छ,’ उनले भने, ‘उद्योगमा जडित उपकरण र त्यसवरपरको वातावरण मापदण्डभित्र रही उद्योगलाई हरित बनाउने काम भएकाले उद्योग शतप्रतिशत ठीक ढंगले सञ्चालन भइरहेको छ ।’

 

सिमेन्ट उद्योगका जनप्रशासन प्रमुख शर्माले पछिल्लो समय उद्योगको क्षमता बढाएर ४ हजार मेट्रिक टन प्रतिदिन उत्पादन गर्ने लक्ष्यअनुरूप हालै सरकारबाट इजाजत लिएर काम सुरू गरिएको जानकारीसमेत दिए । यस विषयमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरूलाल चौधरीले उद्योगले कानुनी प्रक्रिया शतप्रतिशत पालना गरेर सञ्चालन गरेको भए पनि यसका व्यावहारिक पक्षलाई बुझेर उद्योग सञ्चालनमा ध्यान दिनुपर्ने बताए ।

 

उनले वातावरणीय प्रभाव मूल्यांकनलगायत पक्षमा उद्योगले नियमित काम गर्दै आए पनि स्थानीय नागरिकका समस्या बढ्दै जानुका कारणबारे गम्भीर बन्नुपर्ने बताए । उनले उद्योग सञ्चालन गर्न नदिने पक्षमा कोही पनि नरहेको भन्दै उद्योगलाई कसरी नागरिकमैत्री बनाउने, उद्योगका कारण पर्ने नकारात्मक प्रभाव कसरी निवारण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिने भन्ने विषयमा बढी संवेदनशील हुनु अति आवश्यक रहेका बताए ।

 

प्रजिअ गोविन्दप्रसाद रिजालले पटकपटक जनगुनासो बढेको हुँदा अनावश्यक रूपमा निस्कने धुलो, धूवाँ र ध्वनि प्रदूषणको तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन उद्योगलाई निर्देशन दिएको बताए । उनले भने, ‘धुलो, धूवाँ र ध्वनि अनावश्यक रूपमा निस्केर उद्योग वरपर बस्दै आएका नागरिकलाई असर गरेको छ भन्ने गुनासो धेरै नै आयो, के गरेर हुन्छ उद्योगले समाधान निकाल्नुपर्छ ।’

 

उद्योगले वातावरणीय प्रभावको असर कम गर्न विभिन्न प्रयास गरिरहेको, प्लान्ट जडान गर्दा प्रदूषण कम गर्ने उपकरण जडान गरेको दाबी गरेका हुँदा आफूले त्यसको अनुगमन गर्ने बताए । करिब ४ अर्बको लगानीमा २०६२ सालमा घोराही सिमेन्ट उद्योग स्थापना भएको थियो ।

रासस