नेकपाको केन्द्रीय कमिटी बैठकमा आज नेतृत्वले जवाफ दिने

काठमाडौं –सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक विषयमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको आज सचिवालयका सम्बन्धित सदस्यले जवाफ दिने भएका हुन् ।

 

बिज्ञापन

दिउँसो १ बजे राष्ट्रियसभा गृहमा सुरु हुने बैठकमा अध्यक्षद्वय र महासचिवको प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची रहेको नेकपाका प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिए । आजको बैठकमा अध्यक्ष ओली पनि आज उपस्थित हुने सम्भावना छ। बुधबार सुरु भएको नेकपा बैठकमा ४४१ जना केन्द्रीय सदस्यले विभिन्न १५ वटा समूह बनाई छलफल गरेका थिए ।

 

छलफलपछि निष्कर्षका क्रममा अधिकांश टोली नेताले पार्टी र सरकारलाई सुशासन कायम राख्न, भ्रष्टाचारीलाई कडा कारबाही गर्न तथा जनअपेक्षाअनुसारका काम गर्न सुझाव दिएका छन् । त्यस्तै संसदबाट पारित गराउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे पनि व्यापक छलफल भएको थियो । छलफलमा भाग लिने अधिकांश केन्द्रीय सदस्यहरुले एमसीसीको विरोध गरेका छन् ।

 

एमसीसीबारे बोल्ने नेताहरुले आर्थिक सहयोग नलिइ नहुने हो भने नेपालको संविधान र कानुन विपरित रहेका सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, आजै नेकपा सचिवालय बैठक पनि बस्दै छ ।