
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् । त्यतिनै संख्याका मन्त्री र राज्यमन्त्रीलाई ओलीले बिदाइ गरेका छन् । कार्यसम्पादनमा कमजोरसँगै आशा लाग्दा अनुहारलाई समेत ओलीले बिदाइ गरेका छन् ।

पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्री बनाएका छन् ।



यस्तै ओलीले चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुवीर महासेठलाई बिदाइ गरेका छन् । यस्तै राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव पनि बिदा भएका छन् ।

ओली क्याबिनेटमा गोकर्ण विष्टलाई आशालाग्दा मन्त्रीको रुपमा हेरिएको थियो । यस्तै सामाजवादी पार्टीबाट राज्यमन्त्री बनेका चौधरीलाई पनि हटाएर नेकपाकै कोटामा थप एक जना राज्यमन्त्री बनाइएको हो ।
तत्कालीन माओवादीतर्फबाट २ जना र तत्कालीन एमालेको तर्फबाट ३ जना मन्त्री बनेका हुन् । यस्तै त्रिपाठी तत्कालीन एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव लडेर विजयी भएपनि उनी हालसम्म स्वतन्त्र हैसियतमा छन् । रातोपाटीबाट