अध्यक्ष तिमिल्सिना र फ्रान्स-नेपाल संसदीय प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिहीबार भएको भेटमा तिमिल्सिनाले नेपाल-फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको उनले प्रशंसा गरेका हुन् ।

बिज्ञापन

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए । २ देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्‍भाव र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणको आदान प्रदानले विद्यमान सम्बन्धलाई गति दिने विश्वास व्यक्त गरेका छन् ।

दुवै देशका संसद्ले आ-आफ्नो पक्षबाट योगदान गरेका छन् । यस्ता उत्कृष्ट अभ्यासहरू र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौं, तिमिल्सिनाले भने, दुवै संसद्मा नेपाल-फ्रान्स संसदीय समूह गठन भएकोमा म खुसी व्यक्त गर्न चाहन्छु।

अध्यक्ष तिमिल्सिनाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको समर्थनको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरेका छन् । उनले कोभिड-१९ महामारीसँग लड्दा नेपाललाई फ्रान्सले गरेको चिकित्सा सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेका छन्  नेपालको खोप अभियानमा कोभ्याक्स सुविधामार्फत फ्रान्सको सहयोग प्राप्त गरेका छौं, उनले भने । २ देशबीच व्यापार, पर्यटन र पूर्वाधारका क्षेत्रमा थप सहयोगको प्रशस्त सम्भावना रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु, उनले भने ।

भेटमा फ्रान्स-नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यमा लागि आभार व्यक्त गरेका थिए । उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले संयुक्त रुपमा प्रयास गर्नुपर्ने, फ्रान्सले गरेको पर्यापर्यटन अभ्यासबारे जानकारी गराउँदै नेपालको लागि सो सम्बन्धमा सहयोग गर्न तत्पर रहेको बताएका छन् ।