कांग्रेस नेता प्रदीप गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको-१३ औँ पुण्यतिथिमा आज (बिहीबार) देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका छन्।

बिज्ञापन

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखेएको उनले जानकारी दिए। घाँटीको क्यान्सरबाट पीडित स्व। गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो। भदौ ५ गते उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।

सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मिएका स्व गिरि चार पटक सांसद बनेका थिए। उनी पछिल्लो पटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । अध्ययन, अनुसन्धान र लेखनमा रुची राख्ने उनी समाजवादी चिन्तक थिए।