आगामी निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्ति एमालेबीच : महासचिव पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् । उनले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति भएको बताए ।

‘यसपटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शत्तिको छनौटको रुपमा रहेको छ,’ आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘५ दलीय सत्ता गठबन्धनले चुनवामा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न ५ दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।’

बिज्ञापन

आफूहरू एमालेलाई बलियो शक्ति बनाउन जुटेको उनको दाबी छ । मुलुकका राजनीतिक परिवर्तनको आवश्यकता हुँदा मात्र राजनीतिक दलको सहकार्य अपरिहार्य हुने उनले बताए । ‘जब राष्ट्रको विकास र समृद्धिको प्रश्न आउँछ त्यतिबेला राजनीतिक दलहरूले आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा जनतामा जाने सामथ्र्य राख्नुपर्छ,’ उनले भने ।

नेपालको पुरानो महत्वपूर्ण राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सार्मथ्य गुमाइसको उनले बताए । कांग्रेसले आफ्नो अस्तित्वरक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत जनाए ।

साथै महासचिव पोखरेलले आगामी चुनावमा निर्वाचन क्षेत्र विशेषमा अन्य दलहरूसँग तालमेल हुनसक्ने बताएका छन् । तर देशव्यापी रुपमा कुनै पनि दलसँग गठबन्धन नगर्ने महासचिव पोखरेलको भनाई छ ।