अमेरिकी डलर साट्ने बहानामा लुट्ने समुहका दुईजना पक्राउ

अमेरिकी डलर साट्ने बहानामा लुट्ने समुहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ थलाडाँडा घर भएका ३२ वर्षीय संजय तामाङ उर्फ समिर  र शम्शेरडाँडा घर भएका ३१ वर्षीय विष्णु तामाङ छन् ।आरोपीहरुलाई काठमाडौंको टोखा नगरपालिकास्थित यूनिक कोलोनीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । संजय तामाङ अरुबारीमा बस्छन् भने विष्णु ललितपुरको धापाहाइट बस्दै आएका थिए ।

डलर लुटमा संलग्नहरुले आफूसँग भएको अमेरिकी डलर सस्तोमा साटिदिने र त्यसबाट राम्रो आम्दानी हुने भन्दै पीडितहरुलाई सम्पर्क गरेर एकान्त र जंगल क्षेत्रमा बोलाउँछन् । उनीहरुले पीडितलाई डलर भनेर बाहिर डलर र भित्र नेपाली ५–१० रुपैयाँको बिटो बनाएको पोको दिएर नगद लुटेर भाग्ने गर्छन् । यस्तो लुट काठमाडौं उपत्यका र आसपासका जिल्लामा लामो समयदेखि जारी छ ।

बिज्ञापन

भदौ ६ मा संजय र विष्णुले १५ लाख बराबरको अमेरिकी डलर ‘सस्तोमा साटिँदिन्छौं’ भनेर एकजना पीडितलाई बोलाएका थिए । पीडितले त्यसबारे सुराक दिएपछि पिछा गरेर उनीहरुलाई टोखाबाट पक्राउ गरिएको एसपी कोइरालाले बताए ।

पक्राउ परेकाहरु यसअघि ५ वटा यस्तै लुटमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुको साथबाट प्रहरीले अमेरिकी डलर १ दरको ८ सय थान, ५० दरको ३७ थान, नेपाली रुपैयाँ ५ दरको ३२५ थान, १० दरको नोट ९ थान र २० दरको नोट १०९ थान बरामद गरेको छ ।

बरामद गरिएको डलर उनीहरुले लुट्नका लागि बिटो बनाउन प्रयोग गरेका हुन् । डलर भनेर तयारी बिटो दिएपछि ‘प्रहरी आयो छिटो गर्नुस्’ भन्दै उनीहरु नेपाली रुपैयाँ लुटेर भाग्ने गरेका छन् । एउटा लुटमा प्रयोग भएको मोबाइल उनीहरुले अर्कोपटक प्रयोग नगर्ने हुनाले हुलियाको भरमा अनुसन्धान गर्नुपर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।