फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा ३ जना पक्राउ

फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले झापाको भद्रपुरबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ घर भएका १९ वर्षका आशिष विष्ट, १९ वर्षीय प्रवीण राजवंशी र १८ वर्षका भावेश राजवंशी छन् ।सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२ बस्ने डिल्लीबहादुर राउतको अकाउन्ट ह्याक गरेर उनीहरुले रकम ठगेको अनुसन्धानबाट थाहा भएको छ । फेसबुक अकाउन्ट ह्याक गरेर आरोपीहरुले पीडितको म्यासेन्जरबाट पीडितकै साथीहरुलाई आफु ‘समस्यामा परेको’ भनेर म्यासेज पठाएर ठग्ने गरेको जिप्रका सुनसरीका डिएसपी राजकुमार राईले  बताए ।

म्यासेन्जर दुरुपयोग गरेर आरोपीहरुले इसेवा आईडीमा रकम पठाउन आग्रह गरेर ठग्ने गरेका थिए । भदौ १ मा झापाको भद्रपुरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुबारे अनुसन्धान गरिरहको छ । सफ्टवेयर बनाएर सामाजिक सञ्जालमा ‘ब्युटी कन्टेस्ट’ मा भोट दिन आग्रह गरेर पीडितलाई झुक्याएर अकाउन्टमा अनधिकृत प्रवेश गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन

फेसबुकको पासवर्ड चोरी गरेर आरोपीहरुले बिरामी भएको बहना बनाएर रकम माग्ने गरेका थिए । उनीहरुले अहिलेसम्म २५ वटा अकाउन्ट ह्याक गरेर २ लाखभन्दा बढी रकम ठगेको अनुसन्धानबाट थाहा भएको डिएसपी राईले जानकारी दिए ।